हरिहरदेव पन्त स्मृति पुरस्कार बेल्वासेलाई



नेपाल समाचारपत्र, काठमाडौं। डा. हरिहरदेव पन्त फाउन्डेसनले पत्रकार विष्णु बेल्वासेलाई हरिहरदेव पन्त स्मृति सम्मान पत्रकारिता पुरस्कार प्रदान गरेको छ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक समितिका पूर्वअध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर गणेशबहादुर थापाले शनिबार बेल्वासेलाई उक्त पुरस्कार प्रदान गर्नुभयो।

विगत दुई दशकदेखि पत्रकारिता गर्दै आउनु भएका र विगत एक दशकदेखि आर्थिक पत्रकारिता गर्दै आउनुभएका पत्रकार बेलबासेलाई पुरस्कार स्वरूप ५० हजार रुपियाँनगदसहित सम्मान–पत्र प्रदान गरिएको हो। उहाँनेपालन्युज डटकमका सहसम्पादक हुनुहुन्छ।

लघुवित्तका पिताका रूपमा मानिने पन्तको स्मृतिमा उक्त फाउन्डेसनले प्रत्येक वर्ष एकजना आर्थिक पत्रकार वा संघसंस्थालाई पुरस्कृत गर्दै आएकोमा यस वर्ष पत्रकार बेल्वासेलाई प्रदान गरिएको हो।आर्थिक विकास तथा गरिबी न्यूनीकरणमा योगदान पुर्याएका हरिहरदेव पन्तले नेपालमा सर्वप्रथम औपचारिक रूपमा बिना धितो लघुवित्त शुरुवात गर्नुभएको थियो।

उहाँको चौथो स्मृति दिवसमा फाउन्डेसनले पुरस्कार प्रदान गरेको हो।यसैगरी, पन्तको चौथोे वार्षिक पुण्य स्मृति दिवसको अवसर पारेर निर्धन संस्थाले उद्यमशील पुरस्कार लघु उद्यमशीलताको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने सातै प्रदेशका एक एक जना उद्यमीलाई प्रदान गरिएको छ।

उक्त अवसरमा समृद्धिको मार्गमा पुस्तक लोकाषर्ण गरिएको थियो। उक्त अवसरमा हरिहरदेव पन्त फाउन्डेशनका अध्यक्ष जनार्दनदेव पन्तले गरिब, विपन्न वर्गका लागि हरिहरदेव पन्तले पुर्याएको योगदानको बारेमा चर्चा गर्दै उहाँले अपनाएको मार्गको सधै अनुसरण गर्ने बताउनुभयो।

निर्धन संस्थाद्वारा सञ्चालित पन्त लघुउद्यमशील पुरस्कार लघुउद्यमशीलताको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने प्रदेश नम्बर १ की उत्कृष्ट लघुउद्यमी पनिया चौधरी र प्रदेश नम्बर २ कलैया १८ मोतीसरकी उत्कृष्ट लघुउद्यमी विद्यावतीदेवी साहलाई नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तमणि शिवाकोटीले पुरस्कार स्वरूप ३० हजार रुपियाँसहित सम्मान पत्र प्रदान गर्नुभयो।

यसैगरी पन्त लघु उद्यमशील पुरस्कार कार्यक्रमअन्तर्गत लघु उद्यमशीलताको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने प्रदेश नम्बर ३ की उत्कृष्ट लघु उद्यमी शिवकुमारी केसी र गण्डकी प्रदेशमा लघु उद्यमको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने लघु उद्यमी शोभा कुमारीलाई निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिका अध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक शरदनिधि तिवारीले पुरस्कार स्वरुप ३० हजार रुपियाँसहित सम्मान पत्र प्रदान गर्नुभयो।

डा.हरिहरदेव पन्त लघु उद्यमशील पुरस्कार कार्यक्रमअन्तर्गत लघु उद्यमशीलताको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने प्रदेश नम्बर ५ की उत्कृष्ट लघु उद्यमी सुरमी मल्लाह, कर्णाली प्रदेश वीरेन्द्रनगर नपा–१० वेलघारीकी उत्कृष्ट लघुउद्यमी खैरुन निशा र सुदूरपश्चिम प्रदेश, टीकापुर नपा–१ की उत्कृष्ट लघुउद्यमी ज्ञानीदेवी चौधरीलाई निर्धन संस्थाका अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले पुरस्कार स्वरुप ३० हजार रुपियाँसहित सम्मान पत्र प्रदान गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्