डेंगु नियन्त्रण गर्न ढिला नगरौं



डेंगु नियन्त्रणमा ल्याउन सरकारलाई हम्मे–हम्मे परेको छ । नियन्त्रणमा आयो, नियन्त्रणका उपाय अवलम्बन गरिँदै छ भनेर झ्याली पिटाए पनि भरपर्दो तथा विश्वासिलो वातावरण बन्न सकेको छैन । न त सरकार यसमा गम्भीर भएको छ न जनता नै यसबारे सचेत छन् ।

कुनै औषधिमूलो नहुने, सचेतना तथा सावधानी नै यसको अचुक औषधि भएकाले सर्वसाधारणलाई पनि यसबारे जानकारी गराउनु आवश्यक छ । ‘डेंगु नियन्त्रणमा छ, खास असर छैन’ भनेर अवस्था लुकाउँदै आएको सरकारको पोल कृषि तथा पशुपछी विकासमन्त्री चक्रपाणि खनाल नै सो समस्याबाट ग्रस्त भएर अस्पताल भर्ना भएपछि सरकार पानीमुनि ओभानो बन्न खोजेको घामजत्तिकै छर्लंग भएको छ ।

मन्त्रीको उपचारका लागि विशेष टोली बनाएर खटाइनु तथा नियन्त्रण गर्न गाह्रो भएर आईसीयूमा सारिनुले यो जटिल समस्याका रूपमा देखापरेको सजिलै अनुमान गर्न सकिन्छ ।

वैशाखदेखि शुरू भएको डेंगु ५८ जिल्लामा देखापरिसकेको छ । टेकु अस्पतालकै दुई चिकित्सकसहित एघार स्वास्थ्यकर्मी यसबाट संक्रमित भइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक साताअघि डेंगु नियन्त्रणका लागि साढे तीन महिनादेखिका सबै प्रयास विफल भएकाले अब सरकारको काबुमा डेंगु नरहेको औपचारिक जानकारी गराइसकेको छ ।

डेंगुकै कारण रोग लागेको हो भन्ने प्रमाणित भएपछि यसका निःशुल्क उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । सन् २००६ मा चितवनबाटै शुरू भएको डेंगुले २०१० मा आइपुग्दा महामारीको रूप लिएको थियो । यस वर्ष रोगीको संख्या वृद्धि भएको र महामारीको रूप लिएको रिपोर्टमा उल्लेख गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं महानगरपालिका क्षेत्रमा सबैभन्दा बढी डेंगुको संक्रमण १५ वडामा देखिएको छ । कामपा क्षेत्रमा करिब ८९ मा डेंगुको संक्रमण देखिइसकेको छ । शोभाभगवती र चमतीलगायत महानगरभित्र विष्णुमती, टुकुचा, धोबीखोला, बागमती खोलावरपर बस्ने स्थानीय डेंगुको अधिक जोखिममा छन् ।

डेंगु रोकथामका लागि आजसम्म प्रभावकारी कदम नचालिएको स्थानीयको भनाइ छ । कामपाको तथ्याङ्कअनुसार महानगरको १२, १३, १५, १६, २६, २१, २२, २५ र २७ वडामा डेंगुको संक्रमण देखिएको छ । देशभर यसको संक्रमण देखापर्न थालेपछि डेंगुविरुद्ध सतर्कता अपनाइएको छ ।

यसको संक्रमणबाट बच्नका लागि विभिन्न सञ्चारमाध्यमबाट जनचेतनामूलक सन्देश प्रसारण तथा प्रकाशन गरिएको छ तैपनि यो नियन्त्रणमा आउन सकेको छैन । तराईमा लामखुट्टेले टोकेर डेंगु संक्रमण हुने सम्भावना अधिक देखिन्छ । डेंगु ज्वरो एक गम्भीर फ्लु जस्तो बिमारी भएकाले जुनसुकै उमेरका व्यक्तिलाई पनि असर गर्छ ।

बिहान, दिउँसो र साँझ घाम अस्ताउने समयमा डेंगु रोग फैलाउने लामखुट्टेले टोक्ने भएकाले त्यति बेला सावधानी अपनाउन स्वास्थ्यकर्मीले सल्लाह दिएका छन् । यसको मुख्य लक्षण भनेको एक्कासि उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ ।

असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुने आदि यसका लक्षण हुन् । तसर्थ डेंगुविरुद्ध सचेत बनौं, सचेतना फैलाऔं ।

प्रतिक्रिया दिनुहोस्