चीनलाई ढुक्क भएर लगानी गर्न आग्रह



काठमाडौं, (नेस)। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ। उहाँले लामो समयको द्वन्द्वपछि नेपालमा लगानीको वातावरण बन्दै गएकाले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको हो।

प्रचण्डले नेकपाको एकताबाट सिर्जित परिस्थितिलाई समृद्धिको यात्रामा रूपान्तरित गर्न चाहेको बताउनुभयो।
बेइजिङस्थित नेपाली राजदूतावास र चाइना कमर्सियल स्टक इन्टरप्राइजेजले राजधानीमा शनिबार आयोजना गरेको नेपाल–चीन आर्थिक तथा व्यापार सहयोग मञ्चको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले चीनको विकासबाट नजिक र असल मित्रको हैसियतले गर्व लागेका बताउँदै सहयोगको अपेक्षा राखेको बताउनुभयो।

नेपाल र नेपालीले विकासका निम्ति हामीले बृहत्तस्तरमा चिनियाँ सहयोगको अपेक्षा गरेका छौं, लगानीमैत्री ऐनकानुनसमेत तर्जुमा भइसकेको छ’, अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘नेपालमा लगानीका निम्ति चिनियाँ, व्यापारी, लगानीकर्ता, उद्यमी–व्यवसायीलाई आग्रह गर्दछु।’

एक चीन नीतिप्रतिको नेपालको स्थापित अडान दोहोर्याउँदै चीनविरुद्ध नेपाली भूमि कदापि प्रयोग हुन नदिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्