काठमाडौंको रोग पोखरामा पनि बढ्दै छ मापदण्डविपरीतका संरचना



विजय नेपाली, पोखरा। पोखरामा पछिल्लो समय मापदण्डविपरीतका संरचना निर्माण बढ्दो क्रममा छ।
पोखराका करिब १० प्रतिशत घरहरू मापदण्डविपरीत निर्माण भइसकेका छन्। अझ सरकारी जग्गा अतिक्रमण गरी निर्माण भएका घरहरूको संख्या जोड्ने हो भने करिब २० प्रतिशत घर मापदण्डविपरीत नै छन्।

पोखरा महानगरले दिएको तथ्यांकअनुसार नगर प्रहरीमा मापदण्डविपरीत बनेका संरचनाको उजुरी ७६ वटा रहेका छन् भने १४ वटा उजुरीलाई मिलापत्र गरिएको छ। १८ सार्वजनिक सम्पत्तिको सुरक्षा गरिएको छ भने ६८ वटा नियमविपरीत बनेका भवनको सम्बन्धित व्यक्ति उपस्थिति भएका छन्।

यस्तै महानगरमा १३ वटा उजुरी परेको पाइन्छ। यसबाहेक दुईतले भवन निर्माणको निर्माण सम्पन्न भएको प्रमाणपत्र लिएर आठ तलेसम्म निर्माण गर्नेको भने अत्तोपत्तो छैन।महानगरमा २३ जना इन्जिनियर छन् जसमा ३ जना वरिष्ठ इन्जिनियर रहेका छन्।

घर निर्माण सम्पन्न दिँदा दुई वा तीन तलेको दिए पनि अनुगमन नहँुदा तला थप्ने क्रम बढ्दो छ। महानगरको आँखा अघि नै मापदण्डविपरीतका भवन निर्माण हुँदा समेत मौन देखिन्छ महानगर।

महानगरले मापदण्डविपरीत निर्माण भएका भवनलाई कारबाही गर्नुको साटो उल्टै नियम निर्माण गरेको पाइन्छ। महानगरको यस कदमले बिचौलियालाई थप राहत मिलेको पाइन्छ भने अर्कातिर पोखराको सुन्दरतालाई समेत असर पारेको देखिन्छ।

पछिल्लो समय पोखरामा निर्माण भएका घरहरूले निकै सुन्दर देखिने माछापुच्छ«े हिमालसमेत छेकिने गरेको छ।
फेवाताल किनार नजिकका घरहरू हेर्दा दुई तलेसम्म सम्पन्न दिने महानगरको कानुन भए तापनि ८/९ तले घर दिनप्रतिदिन निर्माण हुँदै गएका छन्। यसप्रति कारबाहीका लागि महानगरले कुनै चासो देखाएको पाइँदैन।

लेकसाइडमै मापदण्डविपरीत निर्माण भएको १० तले स्विस इन्टरनेसनल होटल सरोवरमा प्रधानमन्त्री केपी ओलीसमेत दुई घण्टा आराम गर्नुभएको थियो।जेठ १८ गते पोखरामा विभिन्न कार्यक्रमसहित उक्त होटलकै उद्घाटन गर्न आउनुभएका प्रधानमन्त्री ओलीले होटल उद्घाटन नगरे पनि सोही होटलमा आराम गर्नुभएको थियो।

गत वर्ष माघ २ गते पोखराको अमरसिंहचोकमा मापदण्डविपरीत बनेको १० तले होटल टास्क इन्टरनेसनलको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभएको थियो। उपराष्ट्रपति नन्दबहादुर पुनले होटलको उद्घाटन गरे पनि होटल टास्क इन्टरनेसनलको भवन पोखरा महानगरपालिकाले तोकेको मापदण्डविपरीत छ।

१८ करोड रुपियाँको लगानीमा व्यवसायी मीनराज गुरुङ र उनकी धर्मपत्नी गौरी तमुले होटल सञ्चालनमा ल्याउनुभएको हो।पोखरामा हालसम्म वैधानिक रूपमा तीन तले अर्थात् ३५ मिटरसम्म उचाइका घर तथा होटल एवं भवनहरू निर्माणको अनुमति भए पनि मापदण्डविपरीत बनेका छन्।

सेती नदी किनारदेखि बजार क्षेत्रलगायत हरेक ठाउँमा मापदण्डविपरीत संरचना निर्माण भएको नागरिक समाजका अध्यक्ष रामबहादुर पौडेलले बताउनुभयो। महानगरले यस्ता कार्यलाई प्रश्रय दिन्छ भने सह्य नहुने उहाँको भनाइ थियो। ‘अहिले पोखरा नजोगाए पछिल्लो पुस्ताले दुःख पाउनेछन्, मापदण्डविपरीतको संरचनालाई महानगरले प्रश्रय दिनु गलत रहेको छ’ –उहाँले भन्नुभयो।

पोखराका मेयर महानगर बनाउन लाग्नुको साटो भ्रमण गर्नमै व्यस्त भएको उहाँको आरोप थियो। पोखरामा उचाइ मिचेका ६ हजारभन्दा बढी घर मापदण्डविपरीत रहेको पौडेलले जानकारी दिनुभयो।

पोखरा बगरमा बस्दै आउनुभएका कुमार परियारले नियमविपरीत घर निर्माण हुँदासमेत महानगर मौन देखिएको बताउनुभयो। ‘यहाँ त पैसा भए जे पनि हुँदो रहेछ, मेरो घर बनाउन महानगरले स्वीकृति दिएन तर छेउको घरकालाई भने मापदण्डविपरीत निर्माण गर्दासमेत कारबाही भएको छैन कस्तो अचम्म’ –उहाँले भन्नुभयो।

अचम्मको कुरा त तीन तलासम्मको घर सम्पन्न कागज बनाई पछि तला थप्ने प्रवृत्ति छ, यसमा महानगरकै कर्मचारीको समेत मिलेमतो भएको देखिन्छ’ –परियारले भन्नुभयो।

व्यापारिक सुपरमार्केट वा मलको सम्बन्धमा महानगरले क र ख वर्गका ५ तलाभन्दा बढी उचाइ भएका भवन निर्माणको अनुमति दिँदा तोकिएको प्राविधिक समितिको सिफारिसमा रोकिएको प्रक्रिया पूरा गरेपछि मात्र स्वीकृत दिनेछ भनी उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्