न्वागीको अवसरमा सार्वजनिक बिदा



न्युज अफ नेपाल, हेटौंडा । भदौमा पूजा गरिने छोनाम (न्वागी) चेपाङहरुको सबभन्दा ठूलो धार्मिक पूजा हो । यही तथ्यलाई मनन् गरेर मकवानपुरको बिकट राक्सिराङ गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । चेपाङहरुले आज (आइतबार) उक्त पर्व मनाउँदैछन् । उक्त गाउँमा चेपाङको मुख्य वस्ती छ ।

घरमा नयाँ अन्न भित्रिएको खुशीयालीमा मनाइने छोनाम (न्वागी) पर्व चेपाङले मनाउने गर्दछन् । उनीहरुमा हरेक वर्ष घिरौंला, निबुवा, घैया धान, पिँडालु, गाभाजस्ता नयाँ अन्नबाली, तरकारी खान पूजा गर्नुपर्ने नियम छ । नयाँ बाली खान यो पूजा गरेर पर्व मनाइन्छ । यो पूजा नगरेसम्म नयाँ बाली खान पाइँदैन ।

‘राति केरा, पिँडालु, घिरांैला, निबुवा, घैया धान घरमा भित्र्याएर सबै राखेर पूजा गरेर ढ्यांग्रो बजाउँदै न्वागी फलाकिने गरिन्छ भने बेलुकादेखि सुरु हुने पूजा रातभरि गरेर विहान सुझाइबुझाइ गरेपछि खानेकुरा खाने गरिन्छ,’ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।

पूजामार्फत् नै घरमा भित्रिएका अन्न कुलदेवतालाई चढाउने गरिन्छ । चेपाङ जातिले मान्ने देवीदेवता, पितृ सबैलाई चढाएरमात्र खाने गरिन्छ । चेपाङ समुदायले न्वागी पर्वमा आफूले उब्जाएको अन्नले वर्षभरि खान पुगोस् भनेर कामना गर्छन् । न्वागीमा आफन्तहरु जम्मा भएर पूजा गर्ने, ढ्यांग्रो बजाउने, आपसमा खुशीयाली साटासाट गर्छन् ।
न्वागी फलाक्ने काम ‘पाण्डे बा’ वा ‘पाण्डे आमा’ ले गर्छन् । परम्पराअनुसार देउताले रचेर बास दिएका व्यक्तिलाई मात्र पाण्डे बा, पाण्डे आमा भनिने चेपाङ समुदायको भनाइ छ ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका ५९ जनजातिमध्ये चेपाङ एक हो । २०६८ को जनगणनाअनुसार चेपाङको जनसंख्या ६८ हजार ३ सय ९९ छ । यिनीहरु मकवानपुरसहित धादिङ, चितवन, गोरखा, लमजुङ र तनहुँमा छरिएका बसेका पाइन्छन् ।
चेपाङहरुको पहिचान आफ्नो सँस्कार, भेषभुषा, भाषा, सँस्कृति एवम् परम्परागत् सीपको आधारमा बनेको छ । चेपाङहरुको मुख्य बसोबास क्षेत्रमा च्युरीको रुख पाइन्छ । यसले उनीहरुको पहिचान बोकेको पाइन्छ ।

२०३४ सालको तत्कालीन राजाको भ्रमणपछि उनीहरुले आफ्नो जातीय नाम चेपाङबाट प्रजा बनाए । जुन बेलामा सरकारका रुपमा बसेको राजा वीरेन्द्रले अति गरिबीका कारण ‘प्रजा भन्नू’ भनी आदेश गरे । २०३४ सालदेखि प्रजा विकास कार्यक्रम लागु गरियो ।

प्रतिक्रिया दिनुहोस्