मिस्टर काठमाडौंको उपाधि रमेशलाई



न्युज अफ नेपाल, काठमाडौं । नेपाल आर्मीका रमेश कार्कीले राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि शनिबार जितेका छन् ।
विभिन्न ६ तौलसमूहमा पहिलो भएका खेलाडीबीच भएको प्रतिस्पर्धामा रमेश पहिलो हुँदै मिस्टर काठमाडौंको उपाधि जित्न सफल भएका हुन् ।

रमेश ७५ केजीमा पहिलो हुँदै उपाधि होडमा प्रवेश गरेका थिए । उनले विभिन्न तौलसमूहमा पहिलो भएका सिटी फिट्नेसका उमेश डंगोल (५५ केजी), फिट्नेस ग्यारेजका अमिर थापा (६० केजी), सेप्स टु फिट्नेसका विवेक विष्ट (६५ केजी), फिट्नेस ग्यारेजका मिथुन लामा (७० केजी) र ग्यालेक्सी फिट्नेसका ललित धिमाल (७५ केजी) लाई पछि पारे । उपाधिसंगै रमेशले १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । आफ्नो तौलसमूहमा पहिलो भएवापत रमेशले छुट्टै १५ हजार नगद पुरस्कार पनि हात पारेका छन् । हरेक तौलसमूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार हासिल गरेका छन् ।

महिला एथलेटिक्स फिजिक्समा टोटल फिट्नेसकी रोजी पाख्रिन पहिलो, भक्तपुरकी सनम मुल गुठी दोश्रो र वेभ फिजिकल फिटनेसकी जस्मिन लामा तेश्रो भए । जुनियर पुरुष मिस्टर काठमाडौंमा जिमखानाका ओजेशचरण जोशी पहिलो, प्याराडाइस फिट्नेसका किशोर कार्की दोश्रो र द व्यायमशालाका ऋतिक घिमिरे तेश्रो बने ।

काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टिमिटरसम्ममा फिट्नेस फस्टका ईश्वर शाही, फिट्नेस प्लसका विशुराम केसी र सेप्स टुका राजीव थापा क्रमशः शीर्ष तीन स्थानमा रहे । सोही स्पर्धाको १७० सेन्टिमिटरमाथि जिमखानाका धीरज घर्तीले स्वर्ण, सेप्स टुका गिरीराज रोकाले रजत र बडी ग्यारेजका युवक खानले कांस्य जिते । यि चार स्पर्धाका विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेश्रो हुनेले ५ हजारका दरले नगद पुरस्कार हासिल गरे । दुईदिने प्रतियोगितामा १ सय ३६ खेलाडी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्