आर्जन सहकारीको साधारणसभा सम्पन्न



न्युज अफ नेपाल, भक्तपुर । भक्तपुरको लोकन्थलीस्थित आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । सो सहकारीका उपाध्यक्ष कृष्णप्रसाद घिमिरेको सभापतित्व र राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको प्रमुख आतिथ्यतामा शनिबार सल्लाघारीमा सम्पन्न साधारणसभाले गत आवको प्रस्तुत आर्थिक प्रगति विवरण अनुमोदन गरेको छ ।

सो सहकारी संस्थाका सचिव गायत्रीप्रसाद ढुंगेलद्वारा सञ्चालित साधारणसभामा कोषाध्यक्ष पिताप्बर दाहालले संस्थाको वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष कृष्णप्रसाद घिमिरेले संस्थाका गतिविधिसहित भावी रणनीतिका बारेमा प्रतिवेदन अक्षरशः सुनाउनुभएको थियो ।

यसै क्रममा यस सहकारीका संस्थापक अध्यक्ष नवराज न्यौपाने, ज्येष्ठ शेयर सदस्यद्वय बोधप्रसाद उपाध्याय र गायत्रीदेवी घिमिरे, असल ऋणीद्वय सिद्धिबहादुर बुढाथोकी र सुष्मा न्यौपाने तथा एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्रछात्राहरु स्वीकृति न्यौपाने, करिना बुढाथोकी, जेनिसा न्यौपाने र प्रकाश आचार्यलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

यसै गरी यस संस्थाका अध्यक्षको स्वर्गारोहण भएकाले उहाँको स्मरणमा मौनधारण गर्नुका साथै वर्तमान उपाध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा नयाँ सञ्चालक समितिको चयन गरिएको छ ।

प्रमुख अतिथिको आसनबाट बोल्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीका सदस्य, सञ्चालक र यसमा आबद्ध कर्मचारीहरुले सहकारी संस्थालाई आफ्नै सम्झेर कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

शान्तिराज दाहालको स्वागत मन्तव्यबाट शुरु भएको सो साधारणसभामा आर्जन सहकारीकै संस्थापक अध्यक्ष नवराज न्यौपाने, महिला अधिकारकर्मी कमला ओली, संस्थाका लेखा संयोजक विष्णु न्यौपाने, भद्रावती साकोसका अध्यक्ष जयबहादुर खड्का, तामाकोशी साकोसका अध्यक्ष अजिता अर्याल काफ्ले, पारिजात सहकारीका अध्यक्ष ध्रुव रायमाझीलगायतले सहकारीका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

सो अवसरमा मध्यपुर ठिमी नगरपालिकाका प्रतिनिधि सुरेशकुमार राई, राष्ट्रिय सहकारी बैंक ठिमीका शाखा प्रमुख दिनेस गेलाल, दोलखाली समाजका अध्यक्ष शंकरनाथ काफ्लेगायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्