के यान्त्रिक पुलको लठ्ठा छिन्छ त ?



न्युज अफ नेपाल, पर्वत । हरेक नेपालीका घरघरमा तीजले पाइला राख्दै थियो । तीजमा दिदी बिहीन लिन होस वा बाबाको मुख हेर्न औंशीमा घर र माइती जानेहरु कुस्मा बलेवा यान्त्रिक पुलबाट सहजै यात्रा गर्ने योजना बनाईरहेका थिए । बिगतमा यान्त्रिक पुल प्रयोग गरेर कालीगण्डकीको कहालीलाग्दो खोँच सहजै पार गरेकाहरु यस बर्ष पनि सोही अनुसार योजना बनाउने नै भए ।

यात्रुहरुले योजना बनाउँदै गर्दा सामाजिक सञ्जालमा यान्त्रिक पुलको यात्रा जोखिममा रहेको भन्दै सुचना राखेर अफबाह फैलाउने काम भयो । ‘बलेवा न्युज’ नाम गरेको फेसबुक पेजमा राखिएको सुचनापछि धेरैले यात्रा रद्द गरे वा बैकल्पिक यात्रा गर्ने योजना बनाउन पुगे । यान्त्रिक पुल सञ्चालन गर्ने कुस्मा बलेवा यान्त्रिक पुल लिमिटेडले यात्रुहरुलाई सार्वजनिक आब्हान गरेको शैलीमा एडमिन समेत अहिले सम्म पत्ता नलागेको फेसबुक पेजले चलाएको हल्ला दिनभरमा धेरैका वालहरुमा शेयर भैसकेको थियो ।

यसैले गर्दा धेरैले यात्रा समेत रद्द गर्ने अबस्था आयो । बिहान सामाजिक सञ्जालमा अफबाह फैलिएपछि यान्त्रिक पुलले पत्रकार सम्मेलन गरेर भ्रम चिर्ने प्रयास नगरेको पनि होइन तर फेसबुक र युटुबमा राखिने अनाधिकृत सुचनाका आधारमा धारणा बनाउने बानी परि सकेको नेपाली समाजले यान्त्रिक पुलका बिरुद्ध फैलाएको अफबाहलाई साँचो मान्न पुगे ।

एउटा फेक सुचनाका कारण यान्त्रिक पुलमा तीजमा लाग्ने यात्रुको भीड स्वात्तै घट्न पुग्यो । धेरै लामो सम्म लाईन हुने यात्रुहरुको चाप शुन्यप्रायभ यो । यसपटक गलत सुचना राखिएका कारण तीजको आम्दानीमा ५० प्रतिशत भन्दा कम भएको यान्त्रिक पुल लिमिटेडले जनाएको छ । अघिल्ला बर्षहरुमा तीन दिनमा तीन देखि पाँच लाख सम्म कमार्ई हुने गरेको थियो ।

के लठ्ठा छिन्छ त ?

फेसबुक पेजमा राखिएको सुचना अनुसार ‘यान्त्रिक पुलको लठ्ठा चुँडिएको र बेल्डिङ्ग गरेर फेरी चलाईको’ भन्ने थियो । के यान्त्रिक पुलको लठ्ठा साँच्चिकै छिन्छ त ? कालीगण्डकी नदी माथि डरलाग्दो खोँच पार गर्दा लठ्ठा छिन्ने समस्या हो भने त यात्रुहरु अबश्य नै हिच्किचाउने भए । जसरी सामाजिक सञ्जालमा अफवाह फैलियो त्यसरी कुनै पनि केबलकारको मुख्य लठ्ठा नछिन्ने दाबी गर्छन यान्त्रिक पुल निर्माण देखि नै प्राबिधीक काम गर्दै आएका इन्जिनिर अच्युत खतिवडा । यान्त्रिक पुलको लठ्ठा र इन्जिनको १ सय बर्ष ग्यारेन्टी हुने भएकाले लठ्ठा छिन्ने कुरा कल्पना पनि गर्न नसकिने उहाँको दाबी छ ।

बिश्वब्यापी रुपमा ठुला केवलकार, रेलवे, लिफ्टहरुमा प्रयोग हुने उषा मार्टिन ब्राण्डको केवल यान्त्रिक पुलमा पनि राखिएको छ । राखिएका कारण यसको सुरक्षाका बारेमा कुनै चिन्ता नलिन इन्जिनियर अच्युत खतिवडाले आग्रह गर्नुभयो । यस प्रकारका लठ्ठाहरु सय बर्ष सम्म केही समस्या नभई चलेको उहाँको दाबी छ । ‘माटो नै भासिएर गएमा भन्न सकिन्न’ उहाँले भन्नुभयो ‘लठठा वेल्डिङ्ग गरेर चलाउने चीज नै होइन, सुरक्षाका बिषयमा ढुक्क हुनुस’

यान्त्रिक पुलका डब्बा घुमाउन प्रयोग हुने मसिना लठ्ठा(हल्लेज केवल) भने दुई दुई बर्षमा परिर्वतन गरिदै आएको छ । मसिना लठ्ठाको काम डब्बा घुमाउने भएकाले यसमा समस्या आउँदा पनि दुर्घटना हुने संभावना नै नहुने इन्जिनियर खतिवडाको भनाई छ । उहाँका अनुसार पुलको मोटरमा प्रयोग भएका सामाग्रीहरु पनि सय बर्षका ग्यारेन्टी हुने मरिन, रेस्लर ब्राण्ड हुन । पुलको कन्ट्रोल सिष्टमको डिजाईन खतिवडा आफैले गर्नुभएको हो ।

हल्ला फैलाउनेलाई काबार्ही गर्न माग

यान्त्रिक पुलको भदौ १९ गते भएको साधारणसभामा बोल्ने सेयर सदस्य तथा बक्ताहरुले प्राबिधीक बिषयमा जानकारी नै नलिई गलत ढंगले सामाजिक सञ्जालमा अफवाह फैलाउनेहरुलाई काबार्ही गर्न माग गरे । सबैभन्दा बढी यात्रा गर्ने बाग्लुङ्गको बलेवा क्षेत्रका बासिन्दा नै हुन । हल्लाका कारण तीजको समयमा यात्रा गर्ने धेरै मानिसलाई हल्लाले धेरै प्रभावित बनेको बलेवाक ऋषिराम सुबेदीले सुरक्षाका बारेमा समयमा नै सबैलाई जानकारी गराउन आग्रह गर्नुभयो ।

साधारणसभामा बोल्दै यान्त्रिक पुल सञ्चालक समितिका अध्यक्ष होमनारायण श्रेष्ठले पुलले तीज, दशै जस्ता यात्रुहरुको चाप हुने समयमा अफवाह फैलाउने तत्व सक्रिय हुँदै आएको बताउँदै त्यस्ता तत्वको खोजी गरि काबार्हीको प्रकृयामा ल्याइने प्रतिबद्धता जनाउनुभयो ।
साधारणसभामा बोल्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी श्यामु अर्यालले पनि गलत सुचना राखेर जनतामा भ्रम फैलाउने तत्वको खोजी भैरहेको जानकारी दिनुभएको थियो । उहाँले छिट्टै प्रकाउ गरि कानुनी काबार्हीको प्रकृया अगाडी बढाउने जानकारी पनि दिनुभयो ।

पर्वतको सदरमुकाम कुस्मा बजारलाई बागलुङ्ग जिल्लाको बलेवा जोड्ने पुल कालीगण्डकी नदीको २६२ मिटर गहिरो गल्छीमा निर्माण भएको छ । वारपार ५५० मिटर लम्बाईको यो पुल पार गर्न ४ मिनेट मात्रै समय लाग्छ । ६ सय केजी भारवहन क्षमताका दुई वटा डब्बा रहेका छन । एउटा डब्बामा ८ जना यात्रुले एकपटकमा यात्रा गर्छन । यी डब्बालाई केही तौल घटाएर नयाँ डिजाईनमा बनाउँदा आकर्षक र थप यात्रु एक पटकमा ओहोर दोहोर गराउन सकिन्छ । कुस्मा बागलुङ्ग क्षेत्रका यात्रुहरुले एक दिनमा कम्तीमा २ सय ५० जना र बढीमा ५ सय जना सम्मले यात्रा गर्छन । एक बर्षका अवधिमा कम्तीमा १ लाख यात्रुले यात्रा गर्दै आएको यान्त्रिक पुलले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्