वीरगन्जमा एसिड आतंक,छात्राहरुमा त्रास



कृष्णउदास खनाल, वीरगन्ज । वीरगन्जमा एक छात्रा माथि एसिड प्रहार भएपछि बिशेषगरी छात्रा(छोरी)हरु तनाबमा रहेका छन् ।
वीरगन्ज छापकैयाकी मुस्कान खातुनमाथि शुक्रबार बिहान दुई व्यक्तिले एसिड प्रहार गरेका हुन् । विद्यालय जान क्रममा वीरगन्ज वडा नम्बर ५ गणेशमान चौकमा स्कुल जाने क्रममा मुस्कानलाई करिब ६ बजे बिहान दुई युवकले एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।एसिड प्रहारबाट मुस्कान गम्भीर घाइते भएकी छिन्, उनको काठमाडौंमा हाल उपचार भइरहेको छ । त्रिभुवन हनुमान मावीमामा कक्षा ९ मा अध्ययनरत मुस्कानको एसिड प्रहारबाट एक साइटको भाग पुरै जलेको छ ।

एसिड प्रहारमा संलग्न वीरगंज छपकैया २का संसाद आलमलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । घटनाा संलग्न अर्का युवक रैफुल मियाँ फरार रहेका छन् । १६ बर्षीय सम्सादले कथित प्रेमको नाउँमा मुस्कानमाथि एसिड प्रहार गरेको स्वीकार गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराज शर्मले जानकारी दिनुभयो । अनुसंधानका क्रममा उसले एकतर्फी प्रेमका कारण एसिड प्रहार गरेको पाइएको उहाँले बताउनुभयो । वीरगन्जमा सुरक्षा ब्यवस्था फिलतो भएको भन्दै पछिल्ला युवाहरुले बिरोध प्रदर्शन गर्नुका साथै पीडकलाई हदैसम्मको कारवाहीको माग गरेका छन् भने छात्राहरु र उनीहरुका आमाबावुहरु त्रसित बनेका छन् ।

मुख्यमन्त्रीद्वारा सहयोग
एसिड प्रहारबाट गम्भीर घाइते भएकी बीरगन्जकी छात्राको उपचारका लागि प्रदेश २ सरकारले ५ लाख रुपैयाँ सहयोग दिने भएको छ ।
मुख्यमन्त्री लालबाबु राउतले एसिड प्रहारबाट गम्भीर घाइते भएकी वीरगन्ज महानगरपालिकाका ३ छपकैयाकी १५ वर्षीया छात्रा मुस्कान खातुनको उपचारका लागि ५ लाख रुपैयाँ सहयोग दिने घोषणा गर्नुभएको हो । प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले मुख्यमन्त्रीले ५ लाख रुपैयाँ रकम उपचारका लागि सहयोग गर्ने घोषणा गरेको जानकारी दिनुभयो । शुक्रबार बिहान विद्यालय जाने क्रममा खातुनमाथि एसिड आक्रमण भएको थियो । यसअघि उनको उपचारका लागि सांसद प्रदीप यादवले तत्कालै ५० हजार उपलब्ध गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्