नवौं माउण्ट कप भलिबल प्रतियोगिता सुरु



न्युज अफ नेपाल, म्याग्दी । युवा रेडक्रस सर्कल माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयको आयोजनामा शुक्रबारदेखि सदरमुकाम बेनीमा भलिबल प्रतियोगिता सुरु भएको छ । शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापमा सहभागी गराउने उद्देश्यसहित जिल्लास्तरीय अन्तरमावि छात्रछात्रा नवौं माउण्ट कप भलिबल प्रतियोगिता–२०७६ आयोजना गरिएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा म्याग्दीका सभापति लेखबहादुर हमालले पढाइको अतिरिक्त खेलकुदका गतिविधिले विद्यार्थीमा लुकेर रहेको अन्तर्निहित प्रतिभाको प्रस्फुटन गराउने बताए । कार्यक्रममा विद्यालयका सञ्चालक तथा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ र विद्यालयका कार्यवाहक अध्यक्ष प्रमोद श्रेष्ठले शैक्षिक क्रियाकलापका साथसाथै विद्यालयले अतिरिक्त कार्यक्रममा जोड दिने भन्दै अनुशासनपूर्वक खेल खेल्न विद्यार्थीहरुलाई सुझाव दिएका छन् ।

कार्यक्रममा विद्यालयका सञ्चालक तथा निर्देशक राजु केसीको स्वागत गरेका थिए । प्रतियोगितामा छात्रतर्फ १२ र छात्रातर्फ विभिन्न ७ ओटा विद्यालयले सहभागिता जनाएका छन् ।

प्रतियोगिता उद्घाटनको दिन शुक्रबार छात्र भलिबलतर्फ पहिलो चरणका सबै खेलहरु सकिएको आयोजकले जानकारी दिएको छ । पहिलो चरणको खेलबाट आयोजक माउण्ट एभरेष्ट आवासीय मावि बेनी र प्रकाश माध्यमिक विद्यालय सेमीफाइनलमा प्रवेश गरेका छन् । त्यस्तै शनिबार महेन्द्ररत्न मावि बराङ्जा र धौलागिरी मावि सिङ्गाबीच क्वाटरफाइनको खेल हुने भएको छ भने छात्राको भलिबल खेल पनि सुरु हुने जनाइएको छ ।

प्रतियोगिताबाट छात्रतर्फ प्रथम र द्वितीय हुनेले क्रमशः ३५ हजार, २० हजार र रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी छात्रातर्फ प्रथमले २० हजार नगदसहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र एवं द्वितीयले १० हजार ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् ।

प्रतिक्रिया दिनुहोस्