७३ वर्षीया महिलाले जुम्ल्याहा सन्तान जन्माइन्



एजेन्सी, दक्षिण भारतको आन्ध्र प्रदेशमा ७३ वर्षीया महिलाले जुम्ल्याहा सन्तान जन्माएकी छन्। मंगयम्मा यरामती नामकी महिलाले ‘आइभिएफ’ प्रविधिका माध्यमबाट बिहीबार जुम्ल्याहा छोरी जन्माएकी बिबिसीले उल्लेख गरेको छ। आइभिएफ प्रविधिमा शुक्रकिट र अण्ड निकालेर प्रयोगशालामा विकास गरिन्छ र महिलाको गर्भाशयमा हालिन्छ।

७३ वर्षीया मंगयम्माका श्रीमान सिताराम राजाराव ८२ वर्षका छन्। उनीहरूले पहिल्यैदेखि सन्तानको चाहना राखे पनि अहिलेसम्म सफल नभएको बताएका छन्। उनीहरूको बिहे भएको ५७ वर्ष भइसकेको छ।

जुम्ल्याहा छोरी जन्मेपछि उनीहरूले भनेका छन्, ‘हामी एकदमै खुसी छौं।’

उनीहरूका अनुसार मंगयम्माको आइभिएफ उपचार सुरू गरेको दुई महिनापछि गर्भवती भएकी थिइन्।

‘हामीले धेरै पटक प्रयास गरेका थियौं। कयौं डाक्टरसँग जचायौं। मन्दिर धायाैं,’ मंगयम्माले भनेकी छन्, ‘बल्ल हामी आमाबुबा बन्यौं। यो जीवनकै सबभन्दा खुसीको क्षण हो।’

आफू आमा बन्न नसक्दा समाजमा अवहेलना पाएको र प्रायः सामाजिक कामहरूमा आफूलाई बहिष्कार नै गरिएको बताएकी छन्।

टाइम्स अफ इन्डियामा कुराकानी क्रममा मंगयम्माले आफ्ना श्रीमानले सधैं आफ्नो साथ दिएको बताएकी छन्।

‘उनीहरू मलाई सन्तानबिहीन महिला भनेर हेप्थे,’ गोदावारी गाउँकी वासिन्दा मंगयम्माले भनिन्, ‘बाँझी भन्थे। तर मेरा श्रीमान सधैं मेरो सामु उनीहरूलाई जवाफ दिन उभिनुभयो।’

तर आखिरमा उनीहरूले समाजसँगको लडाइँ ‘जितेको’ महशुस गरेका छन्। उनीहरू आफ्ना उमेरका बाबजुद सन्तान हुर्काउन उत्साहित र आत्मविश्वासी देखिएका छन्।

‘म दुई छोरीको बाबु भएँ। मलाई एकदमै गर्व छ। हामी अब समाजलाई हाम्रा सन्तान देखाउन सक्नेछौं,’ सितारामले भनेका छन्।

तर एकातिर खुसीको माहोल भइरहँदा उनीहरूलाई समस्या पनि आइलागेको छ। सन्तान जन्मेको भोलिपल्टै सितारामलाई मुटुमा समस्या आएको थियो। ‘स्ट्रोक’ भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ।

मंगयम्मा र सितारामका जुम्ल्याहा छोरीहरू शल्यक्रिया गरी निकालिएका हुन्। उमेर धेरै भएका कारण मंगयम्माको सामान्य प्रसूति हुन सम्भवै थिएन।

सन् २०१६ मा पनि दलजिन्दर कौर नामकी भारतीय महिलाले छोरा जन्माएर चर्चामा आएकी थिइन्। पाको उमेरमा आमा बन्दा शारिरीक र मानसिक रूपमा धेरै कठिनाइ भएको पनि उनले बताएकी थिइन्।

मंगयम्मा र छोरीहरूको स्वास्थ्य अहिले सामान्य रहेको उनीहरूको उपचारमा संलग्न डा. उमा शंकरले बताएकी छन्। डा. शंकरका अनुसार मंगयम्माको महिनावारी बन्द भइसकेको थियो। मंगयम्माको गर्भवती अवधिभर दस जना डाक्टरले नियमित उपचारमा ध्यान दिइरहेका थिए।

प्रतिक्रिया दिनुहोस्