डेङ्गुबाट चारको मृत्यु



काठमाडौँ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष डेङ्गु सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको जनाएको छ । गत वर्ष उक्त रोगको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको थियो ।

महाशाखा प्रमुख डा विवेक लालले सातै प्रदेशमा सङ्क्रमण न्यूनीकरणका लागि कार्यक्रमसहित रु छ करोड १७ लाख खर्च पठाइएको जानकारी दिनुुभयो । आज यहाँ आयोजित ‘डेङ्गु सङ्क्रमण र रोकथाम’ विषयक अन्तरक्रियामा उहाँले सङ्क्रमणको जोखिम रहेका मुलुकका विभिन्न ४२ जिल्ला तथा ८५ स्थानीय तहमा रोग नियन्त्रणका लागि रु एक करोड ६६ लाख खर्च पठाइएको बताउनुभयो ।

विशेषज्ञ डा बाबुराम मरासिनीले शरीरका विभिन्न अङ्गमा रगत जम्ने, टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, पिसाब तथा बान्ता गर्दा रगत आउनेलगायत लक्षण देखा परेमा सतर्क हुनुपर्ने सुुझाव दिनुुभयो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा वासुदेव पाण्डेका अनुसार श्वास फेर्न अप्ठ्यारो हुने रोगको लक्षण देखिएमा रगतमा भएको प्लेटलेट्सको सङ्ख्या परीक्षण गर्नुपर्छ ।

एडिज लामखुट्टेका कारण रोगको सङ्क्रमण हुने हुँदा घर वरिपरि फोहोर, पानी जम्ने खाल्डाखुल्डी भए त्यसलाई सफा गर्नुपर्ने उहाँले बताउनुुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्