कांग्रेसलाई प्रभावशाली र व्यवस्थित पार्टी कसरी बनाउने ?



ड्ड नविन्द्रराज जोशी
कांग्रेसको स्थापनाकालदेखि नै अवलम्बन गरिएको मासबेस्ड परिपाटीलाई अझ मजबुत र संस्थागत गर्दै जानु पर्दछ ।

पार्टीलाई व्यवस्थित गर्न तीन कुरामा ध्यान दिनु पर्दछ – सोच, संरचना र व्यक्तित्व । विचार जीवन्त हुनु पर्दछ । त्यस विचारलाई तल्लो तहसम्म पु¥याउन संरचना तन्दुरुस्त हुनु पर्दछ र त्यो विचार प्रवाहित गर्ने व्यक्तित्व आदर्श हुनु पर्दछ । विचारलाई जनताको दैनिन्दिनीसँग जोड्ने र पार्टीले विभिन्न तहका समूहहरूसँग निरन्तर संवाद गर्ने गर्नु पर्छ । कांग्रेसले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई जनताका बीचमा रहेर सेवा गर्ने र उनीहरुको भावना बमोजिम कार्य गर्ने निर्देशन गर्नु पर्दछ ।

आगामी निर्वाचनमा थपिने ३५ लाख नयाँ युवा मतदातालाई आकर्षित गर्ने कार्यक्रम तदारुकताका साथ सञ्चालन गर्नु पर्दछ । ती युवाहरुलाई साधारण सदस्यता दिने अभियान चलाएर पार्टीलाई बलियो बनाउनु पर्दछ ।भ्रातृ संस्थाहरुलाई जीवन्त बनाउनु पर्दछ । भ्रातृ संस्थाहरु एवं शुभचिन्तक संघ संगठनहरु जति सबल र सक्रिय हुन्छन्, पार्टी पनि त्यत्तिकै सुदृढ हुन्छ भन्ने कुरालाई पार्टीले आत्मसात् गर्नु पर्दछ ।

नियमित अधिवेशन संघ संस्थाहरुलाई चलायमान गराउने अचूक अस्त्र हो । त्यसैले भ्रातृ संस्थाहरुको अधिवेशन विधानमै उल्लेख गरेर निश्चित समयमा निरन्तर हुने परिपाटी बसाल्दै कांग्रेसका जरा एवं हाँगाबिँगाका रुपमा रहेका भ्रातृ तथा शुभचिन्तक संघ संगठनहरुलाई सबल, सक्षम र स्वतन्त्र रहने वातावरण निर्माण गर्न पार्टीले अहं भूमिका खेल्नु पर्दछ ।

पार्टीमा अनुशासनको कायम गर्दै तह अनुसार जिम्मेवारी बहन भए नभएको अनुगमन गर्ने र योगदानको मूल्याङ्कन पद्धति बसाल्नु पर्दछ । कांग्रेसको महाधिवेशनको तिथि मिति हालसम्म तोकिएको छैन । कांग्रेस नेता तथा कार्यकर्ताहरुको हौसला बढाउनका लागि केन्द्रीय कार्य समिति एकजुट भएर विधान अनुसार समयमै महाधिवेशन सम्पन्न हुने निश्चिन्तता प्रदान गरी प्रभावशाली कांग्रेसको निर्माणमा अग्रसर हुन जरुरी छ । पार्टीका नेतृत्व तथा नेताहरुले नीति, विचार र सिद्धान्तका आधारमा बहस बढाई पार्टीलाई वैचारिक रुपमा सबल, सक्षम र एकीकृत गर्दै स्वार्थ, गुट र उपगुटको अन्त्य गरी पार्टी एक छ भन्ने सन्देश जनता र कार्यकर्तालाई दिन नेतृत्व तह सक्षम हुनु पर्दछ । पार्टीमा र नेताहरुका बीचमा विवाद छैन भन्ने सन्देश प्रवाह गर्न सके कार्यकर्ताका साथै आम नागरिकमा सकारात्मक सन्देश सञ्चार भई पार्टी संगठन सुदृढीकरणमा सघाउ पुग्दछ ।
चुनावका बेला टिकट वितरण गर्दा आफ्नालाई भन्दा पार्टीमा योगदान पु¥याएका चुनाव जित्न सक्ने इमान्दार र स्वच्छ व्यक्तिको चयन गरिनु पर्दछ ।

टिकट प्राप्त गर्न नसकेका टिकटका आकांक्षी कार्यकर्ताहरुसंग टिकट वितरणकै बेला छलफल गरी पार्टी नेतृत्व सबैसंग समान व्यवहार गर्दछ र उनीहरुको भविष्यका बारेमा सम्वेदनशील छ भन्ने सन्देश दिन सक्नु पर्दछ ।सरकार एवं विपक्षी पार्टीका कमी कमजोरीलाई संसद् र सडकमा प्रभावकारी तबरले उठाई कांग्रेसलाई जनभावना र जनतासँग जोड्नु पर्दछ । छाया सरकारको भूमिका जनताले अनुभूत गर्न सक्ने हुनु पर्दछ । व्यवस्थापन र कार्यशैली सुधार गरी विगतमा भएको हारलाई जितमा बदल्नु पर्दछ । व्यक्ति भन्दा संस्था बलियो बनाउने तर्फ उन्मुख हुनु पर्दछ ।

पार्टीभित्रका आन्तरिक समस्यालाई घरभित्र नै समाधान गर्ने वातावरण तयार गरिनु पर्छ । काङ्ग्रेसका आन्तरिक कुरालाई नीति, विचार र बहसबाट टुङ्गो लगाउनु पर्दछ । नेतृत्व पार्टी र जनताप्रति उत्तरदायी बन्नु पर्दछ ।कम्युनिष्टभन्दा हामी भिन्न छौँ भन्ने विचारलाई प्रवाहित गर्नु पर्दछ । वैचारिक रुपले हामी अरुभन्दा फरक हुनुपर्दछ ।
कम्युनिष्टले पनि प्रजातान्त्रिक पद्धतिबाटै जितेकाले यो कांग्रेसकै सिद्धान्तको जित हो ।

हाम्रो सिद्धान्तले जित्नु र हामीले हार्नुमा विश्लेषण हुन जरुरी छ । हाम्रो आफ्नै प्रकृति, स्वभाव र मान्यताले नै देशमा लोकतन्त्र स्थापना भई संविधान निर्माण हुन सकेको हो । तसर्थ यसैलाई सबल बनाउनु नै हाम्रो आगामी कदम हुनु पर्दछ । अर्काको स्वभावलाई नक्कल गगर्नु हामीलाई घातक छ । विश्वमै पराजित भएको कम्युनिष्ट स्वभावलाई बोक्न जरुरी छैन ।

शुभेच्छुक संघ संस्थालाई स्वतन्त्र छाड्नु पर्दछ, नियन्त्रण गर्नु हुँदैन । ३० हजार आइटी क्षेत्रमा लागेका युवा जस्तै विभिन्न क्षेत्रमा लागेका युवालाई स्वतन्त्ररुपमा छाड्दै प्रजातान्त्रिक मूल्य र मान्यतामा आस्थावान् बनाउने उपाय अबलम्बन गर्नुं पर्छ ।युवाहरुको भविष्यको राजनीतिक जीवनको सुरक्षामा पार्टीको ध्यान जान जरुरी छ ।कांग्रेसजनको जीवनशैली साधारण र विचार उच्च बनाई देशलाई समृद्ध बनाउने सोच राख्नु पर्दछ ।

भविष्यमा वामपन्थीहरुबाट लोकतन्त्रवादीहरुले ठूलो चुनौतीको सामना गर्नु पर्ने निश्चित छ । आम लोकतन्त्रवादीहरुको नेतृत्व गर्दै लोकतन्त्रको संरक्षणको जिम्मा लिने गरी कांग्रेस प्रस्तुत हुन जरुरी छ । ७० वर्ष माथिका क्रियाशील सदस्यहरुलाई सम्मान गर्नु पर्छ । नयालाई भूमिका र पुराना कार्यकर्तालाई क्षमता र योग्यता अनुसारको जिम्मेवारी दिई गाउँ गाउँमा बीपी र गणेशमान खोज्नु पर्छ ।

पार्टीलाई जीवन्तता प्रदान गर्न, जनताको भावना संगै गतिशील बनाउन आम कार्यकर्तालाई सक्रिय तुल्याउन सङ्गठन, विचार र नेतृत्व नै मूल आधार हुन् । संगठन शरीर हो । विचार प्राण वा आत्मा हो । नेतृत्व विवेक हो, नेतृत्वले नै विचारलाई प्रभावकारी रुपमा हाँक्नु पर्छ । सिद्धान्त, आदर्श र विचारलाई छलफल र बहसको निरन्तरता दिँदै यसलाई व्यवहारमा लागू गर्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्