न्यूनतम पारिश्रमिक कार्यान्वयनबारे सघन अनुगमन आवश्यकः मन्त्री विष्ट



नेपाल समाचारपत्र, काठमाडौं। श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले कामदार/कर्मचारीहरूलाई न्यूनतम पारिश्रमिक कार्यान्वयन भए नभएको सुनिश्चित गर्न सघन अनुगमन गर्नुपर्नेमा जोड दिनुभएको छ।

विहिवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै उहाँले महिला र पुरूषबीच ज्यालामा देखिने पारिश्रमिक सम्बन्धी विभेद अन्त्य गर्न गम्भिरताकासाथ लाग्नुपर्ने बताउनुभयो।

साथै उहाँले श्रम अडिट गर्ने प्रावधानकोप्रचारप्रसार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। मन्त्री विष्टले श्रमिकको रूपमा विदेशिने नेपाली नागरिकका हक, अधिकार एवम् सुरक्षाको विषयमा अधिकतम ध्यान दिन आफू प्रतिवद्ध रहेको बताउँदै नेपाली श्रमिकहरूको हित विपरित हुने गरी कुनै सम्झौता नगरिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

श्रम कानूनका प्रावधानको प्रभावकारी कार्यान्वयन गरी श्रमिकका गुनासा यथाशीघ्र सम्बोधन गर्न नीतिगत, कानूनी, संस्थागत लगायत आवश्यक जनशक्ति व्यवस्थापन गर्ने सन्दर्भमा थप सुधार गर्न उहाँले मन्त्रालयका अधिकारीहरूलाई निर्देशन समेत दिनुभयो।

बैठकलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले श्रम कानूनको प्रभावकारी कार्यान्वयनका लागि संयुक्त अनुगमन र अन्य सुधारका लागि मन्त्रालयले आवश्यक समन्वय एवम् सहजीकरण गर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्