पुल नहुँदा जोखिम मोल्दै खोला तर्नुपर्ने बाध्यता



नेपाल समाचारपत्र, बैतडी। बैतडी जिल्लाको दुर्गम सिगास गाउँपालिकाको–७ न्यौलालीगाड खोलामा पुल नहुँदा स्थानीय बासिन्दालाई समस्या भएको छ। न्यौलालीगाड खोलाको पतलीटाप नजिक पुल नहुँदा उक्त क्षेत्रका नागरिक जोखिमपूर्ण रुपमा खोला वारपार गर्न बाध्य भएका छन्।

वर्षात्को समयमा खोला बढेर आउने हुँदा खोला तर्न निकै समस्या हुने गरेको स्थानीय भोजराज अवस्थीले जानकारी दिनुभयो। खोलामा पुल नहुँदा खोलाको वारिपारी पुग्ने गरी काठ तेस्र्याएर खोला वारपार गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो। दैनिक १ सयभन्दा बढी मानिस वारपार गर्ने उक्त खोलामा पुल नहुँदा जोखिम मोलेर तर्नुपर्ने अवस्था रहेको छ।

बालबालिकाले विद्यालयसमेत सोही खोला तरेर जानुपर्ने हुँदा बालबालिकालाई झनै समस्या हुने गरेको छ। यसका साथै दैनिक उपभोग्य सामग्री किन्न बजार जानका लागि तथा वनजंगल, घाँसदाउराका लागि पनि सोही खोलाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।

न्यौलाली, टोपेड, ओखडगाउ, कपडाइजर, खेतकोटलगायतका ठाउँका बासिन्दा उक्त खोलामा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन्। न्यौलालीगाड खोलामा झोलुंगे पुल निर्माणका लागि स्थानीय सरकारसँग माग गरेको भए पनि कुनै चासो नदिएको त्यस क्षेत्रका बासिन्दाको आरोप रहेको छ।

यता सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले भने उक्त ठाउँमा पुल निर्माणका लागि सस्पेन्सन ब्रिज डिभिजन कार्यालय डडेल्धुरालाई सिफारिस गरी पठाइएको बताउनुभयो। सिगास गाउँपालिकाका अन्य ठाउँमा झोलुंगे पुल निर्माण भइरहेकाले यो वर्ष उक्त ठाउँमा पुल निर्माण गर्न नसकिएको भए पनि अगामी वर्ष पुल निर्माण हुने उहाँले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्