रेडक्रस दिवस सम्पन्न मिर्गौलापीडित तथा बालबालिकाले सहयोग पाए



म्याग्दी, (नेस)।विभिन्न कार्यक्रमको आयोजना गरेर बिहीबार म्याग्दीमा नेपाल रेडक्रस दिवस मनाइएको छ। दिवसको अवसरमा मिर्गौलापीडितलाई आर्थिक सहयोग हस्तान्तरण तथा म्याग्दी बालगृहका बालबालिकाहरूलाई शैक्षिक सामग्री र कपडा सहयोग गरिएको हो।

नेपाल रेडक्रस सोसाईटी पुलाचौर उपशाखाले मिर्गौलापीडितद्वय निशा सुवेदी र डेकनाथ शर्मालाई आर्थिक सहयोग गर्नुका साथै उपशाखा कार्यालय परिसरमा सरसफाइ गरेर दिवस मनाएको छ। उपशाखाको पहलमा पुलाचौरकी मिर्गौलापीडित सुवेदीलाई नगद ४३ हजार ८ सय १५ र भीरमुनिका शर्मालाई नगद ४३ हजार ७ सय ६५ रुपियाँ सहयोग रकम संकलन गरी हस्तान्तरण गरिएको छ।

उक्त रकम पौलस्त्य तथा जनकल्याण माविका शिक्षक, विद्यार्थी, युवा रेडक्रस सर्कल, पुलाचौर आमा समूह, रेडक्रस पुलाचौर उपशाखाका पदाधिकारी र विभिन्न व्यक्तिहरूमार्फत संकलन गरिएको थियो। संकलित रकम रेडक्रस पुलाचौर उपशाखाका संस्थापक सभापति तथा जिल्ला शाखाका उपसभापति अमर बानियाँमार्फत बिरामीका आफन्तलाई हस्तान्तरण गरिएको थियो।

रकम हस्तान्तरण गर्दै बानियाँले रेडक्रस सामाजिक संस्था भएकाले आपत्विपद्मा परेका व्यक्तिहरूलाई सहयोग गर्ने गरेको बताउनुभएको छ।बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष लक्ष्मण बानियाँले सामाजिक भावनाले ओतप्रोत भएका रेडक्रसकर्मीहरूबाट राजनीतिक दलहरूले पाठ सिक्नुपर्ने बताएका थिए।

कार्यक्रममा रेडक्रस म्याग्दीका यामबहादुर बानियाँ, बेनी नपा–५, पुलाचौरका वडा सदस्य रामप्रसाद सुवेदी र पौलस्त्य मावि भीरमुनिका अध्यक्ष गोविन्द बानियाँले मन्तव्य राख्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्