पोषिलो पुरानो बाली कोदो मादुरो लोप हुदै

बीउसमेत पाउन कठिन



नेपाल समाचारपत्र, बैतडी।जिल्लामा स्वास्थ्यलाई फाइदा हुने पोषकतत्व पाइने अन्नबाली खेतीतर्फ किसानको आकर्षण घट्दै गएको छ। पोषक तत्व फल्ने बालीको कृषकले खेती गर्न छाडेपछि अहिले जिल्लाका केही स्थानमा त्यस्ता बालीहरूको बीऊसम्म पाउन मुस्किल हुन थालेको छ।

बैतडीमा पछिल्लो समयमा कोदो, मादुरो जस्ता पुराना बाली लोप हुन थालेका छन्। पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बाली लोप हुन थालेका हुन्। केहीले फाट्टफुट्ट कोदो, मादुरो खेती गरे पनि घरायसी प्रायोजनका लागि मात्र गरेको पाइने गरिएको किसान राजु टेरको भनाइ छ।

मादुरो, कोदो र जौलगायतका अन्नबाट बन्ने अधिकांश परिकारहरू घिउ, मोही र दुग्धजन्य पदार्थको मिश्रणबाट बन्ने भएकाले पनि भैंसीपालन घटेसँगै यो खेती पनि
लोप भएको जानकारको भनाइ छ। 

कोदो, मादुरो जस्ता बालीमा प्रशस्त मात्रामा पोषकतत्व पाइने भए पनि बालीको महत्व नबुझ्दा लोप हुन थालेका हुन्।
कुनै समय सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, दार्चुला, डोटी, बझाङ र बाजुरालगायतका उच्च पहाडी तथा हिमाली भेगमा प्रशस्त मात्रामा कोदो र मादुराको खेती गरिन्थ्यो।

अन्नहरूमध्ये स्वास्थ्यका लागि निकै फाइदाजनक मानिने कोदो र मादुरो फलेको अहिले सायदै देख्न पाइने गरेको बैतडीको सुर्नया–३ का प्रेमसागर भट्टको भनाइ छ।आयात गरिएको खाद्यान्नका सामग्रीमा पोषक तत्व नपाइने भएकाले पछिल्लो समयमा बालबालिकामा कुपोषणसमेत देखिन थालेको श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले बताउनुभयो।

कोदो, मादुरो, भट्मासलगायतका बालीमा प्रशस्त मात्रामा पोषक तत्व पाइने भए पनि यसको महत्वको बारेमा स्थानीयलाई जानकारी नभएको उहाँले बताउनुभयो। स्थानीय किसान हेमराज गिरीसमेत मिल्दोजुल्दो अनुभव सुनाउनुभयो।

पुराना बालीको संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो। धानबालीसँगै फल्ने कोदो मादुरो आजभोलि देख्नसमेत नपाइने गरेको किसानको भनाइ छ।

बालबालिका, गर्भवती, सुत्केरी महिलाका लागि निकै फाइदाजनक रहेका बालीनै लोप हुन थालेकाले ग्रामीण क्षेत्रमा पोषकतत्व पाइने खाद्यान्नको कमी आउन थालेको दार्चुला लेकमका गणेश कार्कीको भनाइ छ। यी अन्नबालीबाट हुने फाइदाका बारेमा जानकारी नहुँदा यी बाली लोप भएका हुन्।

समयसँगै कृषि गर्ने तरिका परिवर्तन भयो। खेती गरिने बालीनाली पनि परिवर्तन हुँदै गएका छन्। कोदो, मादुरो, जौ खेतीबाट धान र मकै बालीबाट जस्तो आर्थिक लाभ नहुनाले पनि यी बाली लोप हुँदै गएको किसानहरू बताउँछन्।

पछिल्लो समय गाउँघरमा भैसीपालन घटेकाले पनि यो खेती लोप हुँदै गएको किसानहरूको भनाइ छ। मादुरो, कोदो र जौलगायतका अन्नबाट बन्ने अधिकांश परिकारहरू घिउ, मोही र दुग्धजन्य पदार्थको मिश्रणबाट बन्ने भएकाले पनि भैंसीपालन घटेसँगै यो खेती पनि लोप भएको जानकारको भनाइ छ।

जिल्लाको तत्लो क्षेत्रमा पर्ने शिवनाथ र पञ्चेश्वर गाउँपालिका तथा सिगासमा अहिले केही मात्र यी अन्नहरूको खेती भएको पाइन्छ। तर तुलनात्मकरूपमा निकै कम भइसकेको छ। स्थानीय जनप्रतिनिधिले परम्परागत खेतीको संरक्षण गर्ने बताउँदै आएका छन्।

तर कोदो खेतीतर्फ किसानलाई आकर्षण गराउनको लागि यहाँका स्थानीय तहहरूले कुनै योजना बनाएका छैनन्। तर पुराना बालीको संरक्षणका लागि गाउँपालिका लागिपरेको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीको दाबी छ।
नयाँ बालीबाट कम मेहिनेतमा बढी उत्पादन हुने भएकाले पुराना बालीहरू लोप हँुदै गएका छन्।

कृर्षि ज्ञान केन्द्रमार्फत र कृर्षि क्षेत्रमा काम गर्ने संघ संस्थाले किसानलाई यी बालीको महत्वको बारेमा तालिम दिन सक्यो भने संरक्षण गर्न सकिने जानकारको भनाइ छ। अन्य खेतीभन्दा कोदो खेतीमा श्रम पनि बढी लाग्ने भएकोले पनि आकर्षण घट्दै गएको कृषि प्राविधिक सागर भट्टको भनाइ छ।

बैतडीमा गतवर्ष ४ सय ६४ मेट्रिक टन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो। विगतमा जिल्लाका अधिकांश भू–भागमा कोदो खेती हुने गरेकोमा हाल यसको खेती हुने क्षेत्रफल ३ सय हेक्टरमा सीमित हुन पुगेको उहाँले बताउनुभएको छ।

 

प्रतिक्रिया दिनुहोस्