मानव तस्करीको कार्यशैली परिर्वतन



नेपाल समाचारपत्र, विराटनगर।तस्करले कार्यशैली परिवर्तन गरेर मानव बेचबिखन तथा ओसारपसार गरिरहेको सरोकारवालाले बताएका छन्। मानव तस्करी नियन्त्रण गर्न नैतिक शिक्षा र सचेतना प्रभावकारी हुने विषयमा समेत उनीहरूले जोड दिएका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङले आयोजना गरेको मानव बेचबिखन तथा ओसारपसार विरुद्धको सचेतना कार्यक्रमका सहभागी वक्ताले यस्तो बताएका हुन्।

नेपालमा प्रतिबन्धित रहेको नेटवर्क मार्केटिङ व्यवसाय
नेपालीलाई लक्षित गरी भारतमा सञ्चालन गरेर महिला
बेच्ने गरेको उनीहरूको भनाइ थियो

मानव बेचबिखन र ओसारपसार विरुद्ध काम गर्दै आएका विभिन्न संस्था र सरोकारवालालाई सहभागी गराएर आयोजना गरिएको कार्यक्रममा ‘साना हातहरू नेपाल’का प्रयागराज पन्तले पछिल्लो समय तस्करले आफ्नो कार्यशैली परिवर्तन गरेर मानव तस्करी गरिरहेको बताउनुभएको हो। 

उहाँले अपत्यारिलोरूपमा मानिस बेचबिखन र ओसारपसारमा संलग्न रहेको बताउँदै त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिएर जरैसम्म पुग्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। नैतिक शिक्षा र सचेतनालाई अभियानको रूपमा चलाउँदै सीमामा निगरानी र उद्धार कार्यलाई थप प्रभावकारी बनाएर लैजानुपर्ने उहाँको भनाइ थियो।

एबीसी नेपालकी विष्णु शर्माले शैली परिवर्तन गरेका मानव तस्करले रोजगारीका नाममा महिलालाई खाडी मुलुकमा बेचिरहेको बताउनुभयो। कार्यक्रमका सहभागी सरोकारवालाले नेटवर्क मार्केटिङको नाममा समेत उल्लेख्य संख्यामा महिला भारतमा बेचिने बताएका थिए।

नेपालमा प्रतिबन्धित रहेको नेटवर्क मार्केटिङ व्यवसाय नेपालीलाई लक्षित गरी भारतमा सञ्चालन गरेर महिला बेच्ने गरेको उनीहरूको भनाइ थियो। जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले नेपालबाट मानव बेचबिखन हुने देशमा त्यहाँका प्रहरीसँग समन्वय गरेर प्रहरी सहचारी राख्न सकिए प्रभावकारी हुने बताउनुभयो।

मानव बेचबिखनसम्बन्धी चारवर्षे तथ्यांक प्रस्तुत गर्दैै डीएसपी श्रेष्ठले आर्थिक वर्ष २०७३–७४ मा जिल्ला प्रहरी कार्यलयमा ५ वटा मानव बेचबिखनको मुद्दा दर्ता भएको बताउनुभयो। यसैगरी २०७४–७५ मा ९ वटा, ०७५–७६ मा ८ वटा र चालू आर्थिक वर्षको अहिलेसम्म एउटा मुद्दा दर्ता भएको जानकारी दिनुभयो।े

 

प्रतिक्रिया दिनुहोस्