गृहमन्त्री बादल र बंगलादेशी राज्यमन्त्री रहमान भेटवार्ता



नेपाल समाचारपत्र, काठमाडौं।गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपाल भ्रमणमा रहनुभएका बङ्गलादेशको विपद् व्यवस्थापन तथा राहत राज्यमन्त्री एनामुर रहमानले बिहीबार भेटवार्ता गर्नुभएको छ।

गृहमन्त्रालयमा भएको भेटमा नेपाल–बंगलादेश द्विपक्षीय सम्बन्ध, आपसी हीत र विपद् व्यवस्थापनमा दुई देशबीच सहकार्यका विषयमा छलफल भएको थियो।

भेटमा गृहमन्त्री थापाले अनुभवको आदान–प्रदान र सहकार्यका माध्यमबाट दुई देशले विपद् व्यवस्थापनमा सहकार्य बढाउँदै लैजानुपर्ने बताउनुभयो।

गृहमन्त्री थापाले नेपालमा विस २०७२ सालमा गएको विनाशकारी भूकम्पमा बंगलादेशको तर्फबाट भएको सहयोगका लागि बंगलादेशका मन्त्री रहमान र उहाँमार्फत त्यहाँको सरकारलाई धन्यवाद व्यक्तगर्नुभयो।

उहाँले नेपालले विपद् व्यवस्थापनका लागि आवश्यक अधिकांश कानुनको तर्जुमा गरिसकेको तथा संघ, प्रदेश र स्थानीय तहको समन्वयमा विपद् व्यवस्थापनको काम भइरहेको जानकारी दिनुभयो।

बंगलादेशमका मन्त्री रहमानले नेपालले विपद् व्यवस्थापनको क्षेत्रमा गरेको कामहरू सिक्न लायक रहेको टिप्पणी गर्दै विपद्को क्षेत्रमा दुई देशको सहकार्य आवश्यक रहेको टिप्पणी गर्नुभयो।

उहाँले आफ्नो देशमा विशेषतः बाढी, चक्रवात, हुरीजस्ता प्राकृतिक विपद्का घटना बढी हुने गरेको जानकारी दिनुभयो।
विश्वखाद्य कार्यक्रम बंगलादेशका देशीय निर्देशक रिचार्ड रेगनसमेत सहभागी भ्रमण दलले नेपालमा मानवीय सहायता केन्द्र निर्माणको ढाँचा र त्यसको कार्यसञ्चालनबारे अध्ययन गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्