आन्दोलनकारी र प्रहरीबीच झडप



नेपाल समाचारपत्र, काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको काम गरेबापतको भुक्तानी रकम पाउनु पर्ने माग राख्दै आन्दोलनरत पीडित र प्रहरीबीच झडप भएको छ।

मेलम्चीको मुहानक्षेत्र अम्बाथानमा बिहीबार दिउँसो भएको उक्त झडपमा परी दुई प्रदर्शनकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

घाइतेमध्ये एक जनाको हातमा गोली लागी रत्ताम्मे भएको आयोजना पीडित संघर्ष समितिका संयोजक विष्णुमणि आचार्यले बताउनुभयो।

प्रदर्शनका क्रममा मजदुर सन्तोष चौधरी र बालमुकुन्द अधिकारी घाइते भएको र घाइतेको क्षेत्रीय स्वास्थ्य चौकी मेलम्चीमा उपचार भइरहेको प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता माधवप्रसाद काफ्लेले बताउनुभयो।

आन्दोलनमा उत्रिएका करिब ३ सयको हारहारीमा रहेका पीडितहरू सुरक्षा घेरा पार गरी तोडफोडमा उत्रिएपछि बल प्रयोग गर्नु परेको उहाँले स्पष्ट पार्नुभयो। यस क्रममा रबरको गोली, हवाई फायर र एक दर्जन बढी अश्रु ग्यास प्रहार भएको प्रहरीले स्वीकारेको छ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको जिम्मा पाएको इटालिएन कम्पनी सिएमसीसँग करारमा काम गरेका स्थानीय सप्लायर्स, मजदुर, स्थानीय निर्माण व्यवसायीले दोस्रो पटक बुधबारदेखि आन्दोलनको घोषणा गरेको छ।

संघर्ष समितिले बुधबारै मेलम्ची भ्यालीमा रहेको मेलम्ची कार्यालय घेराउ गरी धर्ना दिएको थियो भने बिहीबार साँझ मेलम्ची बजारमा राँके जुलुसको आयोजना गरेको थियो। आफ्नो माग सम्बोधन नभएसम्मका लागि आन्दोलन जारी रहने संघर्ष समितिले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्