पूर्वसभासद जेल चलान



काठमाडौं, (नेस)। एक युवालाई प्रहरी निरीक्षक बनाइदिने भन्दै पटक पटक गरेर ४ लाख ५० हजार घूस लिएका पूर्वसांसद डोलबहादुर कार्कीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी जिल्ला अदालत काठमाडौंको जिम्मा लगाइदिएको छ।

पैसा लिएर पनि प्रहरी निरीक्षक नभएपछि राजकुमार राईले प्रहरीमा उजुरी गरेका थिए। कार्कीले २०६७ भदौ १४ गते नेपाल प्रहरीको प्रहरी निरीक्षकमा नोकरी लगाइदिने बाहनामा राईसँग पटक पटक गरी ४ लाख ५० हजार रुपियाँ घूस लिई उक्त रकममध्ये २ लाख ५० हजार मुद्दाका अर्का प्रतिवादी स्वामी ब्रम्हानन्द उदासीले र १ लाख रुपियाँ कार्कीले लिएका थिए।

उक्त मुद्दामा जनही ४–४ महिना कैद र बिगो बमोजिम १–१ लाख रुपियाँ जरिवाना र प्रतिवादी मध्येका कार्की तत्कालीन संविधानसभा तथा व्यवस्थापिका संसद्को सभासद पदमा आसिन व्यक्ति भएकोले थप २ महिना कैद सजायसमेत गरी जम्मा ६ महिना कैद र १ लाख रुपियाँ जरिमाना हुने ठहर गरेको फैसलालाई सर्वोच्च अदालतको गत असार १७ गतेको फैसलाले सदर गरेको थियो।

फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा कैद भुक्तानका लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको ब्यूरोले जनाएको छ।पक्राउ परेका कार्की नेकपाका प्रभावशाली नेता वामदेव गौतमका विश्वास पात्र हुन।

प्रतिक्रिया दिनुहोस्