घूस खानेमाथि मुद्दा दायर



काठमाडौं, (नेस)।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साबिक दाँगपा गाविस तेह्रथुममा कार्यरत गाविस सचिव मणिप्रसाद राईले सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार गाविस सचिव रहनुभएका राईले आफैले ल्याप्चे लगाई २ लाख ९ हजार ७ सय बराबरको भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

नक्कली कागजात तयार पारी तत्कालीन जिल्ला विकास समिति तेह्रथुमबाट भुक्तानी लिएको पाइएकाले बिगो असुल गरी कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो।

यस्तै आयोगले शहरी विकास तथा भवन डिभिजन विभाग डिभिजन कार्यालय काठमाडौंअन्तर्गतको बोलपत्रमा निर्माण व्यवसायीसँग कुनै सुरक्षण बापतको रकमसमेत नराखी ‘बिड वन्ड’ जारी गरेको अभियोगमा छ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

आयोगले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय चरिकोटका शाखा प्रबन्धक टीकाप्रसाद दुलालविरुद्ध ६ लाख १० हजार बराबरको अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको छ।

यस्तै सोही बैंक शाखा कार्यालय, चरिकोटका तत्कालीन प्रबन्धक नवराज खत्री तथा कर्जा इन्चार्ज प्रह्लाद खड्काले पनि निर्माण व्यवसायी सोवर्ण/ब्रह्माणी जेभीले बैंकसँग ‘बिड वन्ड’ कारोबार गर्दा बैंकमा कुनै सुरक्षण नराखेको पाइएको छ। आयोगले उनीहरूविरुद्ध रु १४ लाख ८१ हजार बराबरको बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ।

प्रतिक्रिया दिनुहोस्