सरकारलाई कांग्रेसको आलोचना



संघीय संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पछिल्लो केन्द्रीय समिति बैठकले पारित गरेको राजनीतिक प्रस्ताव सरकारविरुद्ध केन्द्रित छ।

सरकारले गरेका गलत क्रियाकलापलाई बुँदागतरूपमा प्रस्तुत गरिएको उक्त प्रस्ताव सत्ताधारी नेकपालगायतका दलले ‘विरोधका लागि विरोध’का रूपमा लिएका छन् भने नेकाले सरकारविरुद्ध देशव्यापी जनमत सृजना गर्ने रणनीतिका रूपमा लिएको छ।

सरकारको आलोचनामा १६ बुँदा बनाई सार्वजनिक गर्ने नेका असार २२ देखि भदौ १७ सम्म कुल १६ दिन चलेको केन्द्रीय समिति बैठकमा स्वयं पनि उत्तिकै आलोचित बनेको छ।

पार्टी विधि विधानमा नचलेको, नेतृत्वमा व्यक्तिवादी चरित्र हावी भएको, पार्टी झन् कमजोर अवस्थामा पुगेको, समयमै आवश्यक निर्णय गरी पार्टीलाई चलायमान बनाउन नसकेको, भ्रातृ एवं शुभेच्छुक संघ–सस्थालाई लथालि· बनाएको, विधानमा उल्लेख भएअनुसारको पार्टी संरचना निर्माणमा ढिलाइ गरेको, पार्टी नेतृत्वको क्षमता कमजोर रहेको आदि टिप्पणी बैठकमा गरियो। अन्ततः आलोचना खाएको प्रमुख प्रतिपक्षीले आलोचना नै ओकल्यो।

पार्टीलाई सशक्त बनाउन महत्वपूर्ण निर्णय लिई १४औं महाधिवेशनको तयारीमा जुट्ने बताइएको कांग्रेसले सरकारको चर्को आलोचना गर्नेबाहेक पार्टीलाई सशक्त बनाउन अपेक्षित निर्णय लिन सकेन। फटाफट हुनुपर्ने पार्टीको संगठन सुधारका विषयहरूमा जति छलफल गरे पनि निर्णय भने उही परम्परागत ढंगले आउने क्रम दोहोरियो।

सहमतिका लागि शीर्ष नेताबीच छलफल भइरहेको, छिट्टै निर्णय गर्ने, ६ महिना म्याद थप्नेजस्ता झारा टार्ने कुराहरूले कांग्रेसभित्र आम कार्यकर्तामा नैराश्यता पैदा हुँदै आएको छ, पार्टीभित्र गुट–उपगुट मौलाइरहेको छ। दुई महिनाभित्र गर्नुपर्ने कार्यहरू चार वर्षसम्म पनि भएका छैनन्।

भर्खर संघीय संरचनाअनुसार पार्टी संगठन निर्माणमा जुटेको कांग्रेसभित्र रहेका १३ वटा भ्रातृ संस्था, १७ वटा शुभेच्छुक संस्था र ३३ वटा जनसम्पर्क समिति प्रायः निस्क्रिय छन्, ती सबैलाई सक्रिय बनाउने कार्यमा प्रगति भएन। इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको अवस्थामा पनि सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्दै आफ्नो संगठनलाई चुस्त दुरुस्त राख्दै सशक्तरूपमा अघि बढ्नुपर्ने प्रमुख प्रतिपक्ष दल कांग्रेसको यो अलमल कहिलेसम्म भन्ने प्रश्नसमेत उब्जिएको छ।

आउँदो स्थानीय निर्वाचनको एक वर्षअगावै १४औं महाधिवेशन सम्पन्न गरी पार्टीका सबै संरचनालाई चलायमान र सशक्त ढंगले अघि बढाइसक्नुपर्ने कांग्रेसको यो अलमलले पार्टी अझै कमजोर बन्ने आशंका उब्जिएको छ।

लामो इतिहास बोकेको र नेपालका सबै राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको नेकाले लामो समय सत्ता सञ्चालन गरेर मुलुकको विकासमा योगदान दिएको छ। नेकाजस्तो पुरानो पार्टीका हरेक गतिविधि र शैली सबैका लागि उदाहरणीय हुनुपर्छ।

सरकारका १६ थान कमजोरी पहिचान गर्नेले आफूले कम्तीमा आठ थान सुधारका निर्णयहरू त सार्वजनिक गर्नैपथ्र्यो। पछिल्ला वर्षमा नेपाली जनताको चेतनास्तर यति माथि उठेको छ कि अरूलाई आलोचना गरेर आफू राम्रो देखिने अभ्यासभन्दा आफ्ना राम्रा काम सार्वजनिक गरेर मुखरित हुने दल वा नेतालाई सबैले प्रिय ठान्ने गरेका छन्। अर्कातिर कांग्रेसले उठाएका आलोचनात्मक बुँदालाई सरकारले ‘विरोधका लागि विरोध’का रूपमा मात्र लिनुचाहिँ अर्को भूल हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्