मानवता हराएकै हो ?



मंगलबार रसुवाको टिमुरे सडकखण्डमा बा ६ ख ४९२५ नम्बरको कन्टेनरका चालक आशिष तामाङलाई प्रहरी सहायक निरीक्षक र हवल्दारले कुटपिट गरेको समाचारले मलाई साह्रै घत पर्यो। अपशब्द बोल्दै प्रहरीले तामाङलाई कुटेको भिडिओ पनि सामाजिक सञ्जालभरि फैलिएको छ।

कुटपिट गर्ने ती प्रहरीको नाम अहिलेसम्म गोप्य राखेको छ। यस्तै गत भदौ १२ गते जनकपुरको जानकी मन्दिरस्थित पर्यटक प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक वीरेन्द्र यादव र जवान प्रेमशंकर यादवले नरिवल बेच्ने एक युवकलाई कुटे।

प्रहरीले युवकमाथि कुटपिट गरिरहेको भिडियो नजिक रहेका सुशील कर्णले खिचेका थिए। भिडियो किन खिचेको भन्दै दुवै प्रहरीले कर्णलाई कुटे। प्रहरीले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो।

त्यति मात्र नभई एकपटक फेसबुकमा सशस्त्र प्रहरी बलका एक सिपाहीले मानसिक सन्तुलन बिग्रेका एक युवकमाथि निर्घात कुटपिट गरे, घरी लात्तीले त घरी डन्डाले। यी घटना त सामाजिक सञ्जालमा भाइरल बनेका मात्रै केही हुन्। तर यस्ता थुप्रै घटना छन्, जहाँ नागरिकले प्रहरीको निर्घात कुटाइ खेप्नुपरेको छ।

नमिठा ती बचन सहनुपरेको छ। राज्यका विभिन्न सुरक्षा अंगहरूमध्ये प्रहरी त्यस्तो संस्था हो जो हरबखत नागरिकका बीचमा हुन्छ। अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न नागरिकलाई प्रहरी चाहिन्छ, प्रहरीलाई नागरिकको साथ अपरिहार्य छ। नागरिकसँगको सम्बन्ध सुमधुर बनाउन प्रहरीले बेला–बेलामा विभिन्न अभियान पनि चलाउने गर्छ।

पछिल्लो समय नयाँ प्रहरी प्रमुख आउनासाथ नागरिकसँग जोडिने नयाँ अभियान पनि शुरू हुँदै आएका छन्। उपेन्द्रकान्त अर्याल महानिरीक्षक हुँदा प्रहरीले ‘मुस्कानसहितको सेवा’ दिने अभियान चलाएको थियो। तीन वर्षअघि प्रहरीले ‘प्रहरी मेरो साथी’ अभियान ल्यायो।

सर्वेन्द्र खनाल महानिरीक्षक बनेपछि अहिले ‘समुदाय–प्रहरी साझेदारी’ अभियान चलिरहेको छ। रसुवामा भएको घटनामा त प्रहरीले गल्ती नै स्वीकार्न मानेको छैन। हो, कहिलेकाहीँ काम गर्दै जाँदा प्रहरीले नागरिकको हप्काइ, दुव्र्यवहारजस्ता कुराहरू खेप्नुपर्ने हुन्छ।

तर प्रहरी नै उनीहरूमाथि जाइलाग्ने र निर्घात कुटपिट गर्ने। के अरू कुनै प्रक्रिया छैनन् ? के प्रहरीले सर्वसाधारणलाई निर्घात कुट्ने अधिकार पाएको छ ?

के यस्ता अधिकार संविधानमा लेखिएका छन् ? यस्तो घटना हेर्दा लाग्छ, प्रहरीमा मानवता नै छैन। प्रहरीले पनि आफ्नो अधिकार र सीमाको ख्याल गर्नु जरुरी छ। राम्रा–राम्रा कार्यक्रमहरू चलाएर विश्वभर चर्चा बटुलेको प्रहरीको यस्तो हर्कतले आमनेपाली जनतामा नैराश्यता थपिएको छ।

– बबिता निरौला, जोरपाटी, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्