सोच सिंगल रिलिजमा



सामाजिक कथामा बनेको फिल्म सोच आज अल नेपाल सिंगल रिलिजमा आउने भएको छ।पुजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन गरेको फिल्ममा कथा पनि उनकै रहेको छ भने पटकथा र संवाद कृष्ण आचार्यको रहेको छ।

फिल्ममा प्रज्वल गिरी र नीता ढुंगानाका साथमा विशाल पहाडी, पुजन सिंह, सोनिका बास्तोला, किरण थापालगायतले अभिनय गरेका छन्।

बिहीबार राजधानी आयोजित प्रेस भेटघाट कार्यक्रममा निर्देशक सिंहले मानिसको राम्रो र नराम्रो सोचलाई समेटेर फिल्म निर्माण गरेको तथा नकारात्मक सोचका कारण मानिसको घर कसरी बिग्रन्छ भनेर चित्रण गरिएको बताए।

‘मेचीदेखि महाकालीसम्म भ्रमण गर्दा प्रायः घरमा नकारात्मक सोचका कारण घर बिग्रिएको देख्यौं, यही कुरालाई फिल्ममा उतारेका छौं।’ –उनले भने।

अभिनेता विशाल पहाडीले आफू फिल्ममा खलपात्रका रूपमा रहेको बताए। ‘यो फिल्ममा म भयंकर खलपात्रका रूपमा छु। भूमिका चित्त बुझेकै कारण यो फिल्ममा अभिनय गरेको हुँ।’ –उनले भने। फिल्मकी निर्मात्री गंगा रजकले आफू एक व्यवसायी रहेको र व्यवसाय गर्ने क्रममा फिल्ममा लगानी गरेको बताइन्।

‘नेपाली फिल्मलई दर्शकले माया गरून् भन्ने चाहना छ।’ –उनले भनिन्। गंगाको साथमा फिल्ममा एसडीको निर्माण रहेको छ। फिल्ममा रामजी लामिछाने तथा पुजन सिंहको कोरियोग्राफी, एनबी महर्जनको द्वन्द्व निर्देशन र विदुर पाण्डेको छायांकन रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्