चियाङमाईको डबली



देवराज अर्याल

चियाङमाईको डबली डा. विदुर चालिसेद्वारा लिखित नेपाली कविताहरूको नवीनतम सङ्गालो हो। विगत लामो समयदेखि कविता लेखनको यात्रामा रहँदै आउनुभएका डा. चालिसेले एउटा पृथक् शैली र ढाँचामा रचना गर्नुभएका ७७ वटा कवितालाई यस संग्रहमा समावेश गरिएका छन्, जसमा व्यक्ति, समाज, प्रकृति र भावनात्मक संवेगका रसायनहरूलाई मिलाएर विद्रोहको जागरण र समाधानको सन्देश प्रवाह गरिएको छ।

शब्द संयोजन र शैली संरचनामा केही क्लिष्टता भए पनि समग्रतामा बोधगम्य हुने प्रकारले कविताहरू प्रस्तुत गरिएका छन्। समग्र कविताहरूको विचरण गर्दा भाषा, शैली, शब्द, संयोजन र प्रस्तुतीकरणमा मौलिकपनको अनुभूति गर्न सकिन्छ।

परम्परागतरूपमा प्रचलित रचनाको अभ्यासदेखि लिएर नयाँ माध्यम र सामाजिक सञ्जालहरूको विकास भएपछि आधुनिक जीवनशैलीमा प्रयोग भएका नयाँनयाँ शब्द र शैलीलाई संयोजन गरी कलाशैलीमा आएको फरकपनामा पाठकलाई परिचित बनाउन खोजिएको छ।

कविता रचना आफैमा एउटा जटिल कार्य हो। हुन त जीवनका भोगाइहरू नै कविता हो भनिन्छ। तर, जीवनका सबै भोगाइले कविताको जीवन पाउन सक्दैनन्। कवितालाई जीवन दिन शब्दको आवश्यकता पर्दछ। अनि शब्द र शैलीको संगति मिलाउनुपर्ने हुन्छ। त्यसै गरी जीवनको भोगाइलाई भावनामा अभिव्यक्त गर्ने कला चाहिन्छ।

यति मात्रले पुग्दैन कविता लेखनका निश्चित नियम र आधारहरूको आवश्यकता पर्दछ। जीवनका दुःख र सुखलाई बुझ्ने अनि त्यसलाई राम्रोसँग विश्लेषण गरी सारतत्वलाई लयात्मकरूपमा व्यक्त गर्न सक्ने कलाले मात्रै कविताको सिर्जना गर्न सक्दछ। डा. चालिसेले यिनै पृष्ठभूमिमा आफूलाई अन्तरघुलित बनाएर चियाङमाईको डबलीमार्फत आफ्नो कवि चेत पस्कनुभएको छ।

विभिन्न विषयका ७७ शीर्षकमा रचना गरिएका सबै कविताहरू प्रस्तुति र सन्देशका हिसाबले चोटिला छन्। शीर्षक छनोटदेखि नै होसियारी देखाइएको हुनाले पाठकलाई विषयको गहिराइमा जान उत्प्रेरणा जगाउने नै भयो।

एउटा समाचारपत्रको सम्पादकले पाठकको ध्यान आकृष्ट गर्न जसरी समाचारका शीर्षकलाई आकर्षक शैलीमा प्रस्तुत गरेको हुन्छ, त्यसै गरी डा. चालिसेले पनि चियाङमाईको डबलीमा बसेर उक्त फर्मुलाको भरपुर उपयोग गर्नुभएको छ।

पागल स्टेसन, मनोवैज्ञानिक पोलियो, अल्छी गुराँसहरू, खामभित्रको प्रवास, समयको अक्ष, भावुकताको लत, ट्रान्जिटको चश्मा, समावेशी लसपल आदि। यी त प्रतिनिधिमूलक उदाहरणहरू मात्र हुन्। अरू धेरै आकर्षक शीर्षकका कविता यस संग्रहमा संग्रहित गरिएका छन्। शीर्षकहरूको माध्यमबाट कविताको प्राण र शरीरको बीचमा रिदम जोड्ने प्रयास भएका छन्।

डा. चालिसेले चियाङमाईको डबलीमा समाजमा व्याप्त विविध विषयहरूको उठान गर्नुभएको छ। राजनीतिमा मौलाउँदै गरेको विकृति र विसंगतिका विरुद्ध आफ्नो असहमतिलाई आम जनताको भाषामा उतारेर सुधारको अपेक्षा राख्नुभएको छ।

यसै गरी राजनीतिज्ञ र जनप्रतिनिधिलाई जनता र राष्ट्रप्रतिको दायित्व र जवाफदेहिता बहन गर्न आग्रह पनि गर्नुभएको छ, उल्लिखित हरफमार्फत ः

सुधारगृहका हर प्रयाससँग
नृत्यनलमा रमाएका नर्तकीहरू
चुटिरहेका हुन्थे राजनीतिको गफ
देश विकासको सवाल थियो त्यति बेला
मनोवैज्ञानिक पोलियो थोपाको काम !

चियाङमाईको डबलीमा राजनीति मात्र होइन केही संस्कृतिका विषयहरू पनि छन्, केही प्रकृतिका बयानहरू छन्। त्यसै गरी माया, पिरती र आशक्तिका विषयहरूले पनि कवितामा पर्याप्त स्थान पाएका छन्।

यति मात्र होइन नयाँ माध्यम र सामाजिक सञ्जालको विस्तारले निर्माण गरेको भर्चुअल संसारको बस्ती तथा जीवनशैलीलाई पनि कविताको आँखीझ्यालबाट देखिने सपाट चित्रको बिम्ब उतार्ने काम भएको छ।

जसले गर्दा प्रस्तुत कृति युवा उमेरका जिज्ञाशुहरूदेखि लिएर वयस्क, पाका र जेष्ठका लागि पनि उपयोगी खुराकका रूपमा देखापरेको छ।

प्रेम प्रस्तावका अमुक अमुक रोगहरूसँग
बेलाबेला बजिरहन्थे अमनका सपेराहरू
मंगल धुनमा उडेथे गोमनका अपेराहरू
सिरियस जोडीका अग्लिएका पहाडतिर

यसरी प्रेमका कुरा, नेपाली समाजको अहिलेको चरित्र, परिवेश र प्रकृतिलाई शब्दका माध्यमबाट जोडेर समग्रतामा विद्यमान यथार्थतालाई कवितामार्फत उतारिएका छन्। त्यो पनि लाक्षणिक र बिम्बात्मक शैलीमा।

वास्तवमा कविता रचनामा यो कार्य निकै जटिल हुने गर्दछ। तर, पनि डा. चालिसेको यो कार्यलाई सहजरूपमा प्रस्तुत गर्नुभएको छ। भाषा विज्ञानको क्षेत्रमा लामो समयदेखि अध्ययन अनुसन्धान गर्दै आउनुभएको हुनाले नयाँनयाँ शब्द, बिम्ब र सन्दर्भको प्रयोग उहाँका लागि सामान्य हो।

तर, यो शैलीको प्रयोगले पाठकका लागि बोध प्रक्रिया अलिकति कठिन बनाउने अवस्था देखिन्छ। यद्यपि कविताको ओजलाई माथि निकै माथि पुर्याएको छ। समग्रता नेपाली कविता साहित्यको स्तरलाई उच्च बनाउने सन्दर्भमा एउटा बलियो इँटाको भूमिका खेल्ने विश्वास गर्न सकिन्छ।

 

प्रतिक्रिया दिनुहोस्