प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित कांग्रेसको जागरण अभियान



रामकृष्ण चापागाईं, काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस दोस्रो चरणको हिमाल, पहाड, तराई–मधेस जागरण अभियानमा जुटेको छ।यही भदौं २४ देखि शुरू गरी असोज ७ गते समापन गरिने जागरण अभियान प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित हुने कांग्रेसले जनाएको छ।

यसअघि कांग्रेसले पहिलो चरणअन्तर्गत जिल्ला केन्द्रित जागरण अभियान सम्पन्न गरेको थियो।पार्टीलाई थप मजबुत र संगठित बनाउनुका साथै सरकारका गलत क्रियाकलापलाई झण्डाफोर गर्दै आम मतदातालाई भरोसा दिलाउनेलगायत १५ वटा उद्देश्यका साथ दोस्रो चरणको जागरण अभियान शुरू गर्न लागेको कांग्रेसले पहिलो चरणको अभियानमा आम कार्यकर्ताबाट आएको गुनासा सम्बोधन गरेको जनाएको छ।

यसअघि वैशाख १५ देखि जेठ १५ सम्म आयोजना गरेको जागरण अभियानमा आम कार्यकर्ताले नेतृत्वको चर्को आलोचना गरेका थिए।

दोस्रो चरणको जागरण अभियानबारे जानकारी दिन बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभयो– ‘दोस्रो चरणको अभियानका लागि ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाउने काम भइरहेको छ।’

यो अभियान बढी अन्तरक्रियात्मक हुने भन्दै प्रवक्ता शर्माले यो अभियानमा पार्टीका नेता एवं प्रतिनिधिले बोल्ने कम सुन्ने बढी प्रकृतिका कार्यक्रम निर्धारण गरिएको बताउनुभयो।जननायक बीपी कोइरालाको १०६औं जन्मजयन्तीको प्रतिकस्वरूप १०६ बिरुवा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा वृक्षारोपण गरेर दोस्रो चरणको जागरण अभियानको देशव्यापी रूपमा उद्घाटन गरिने प्रवक्ता शर्माले बताउनुभएको छ।

एकैदिन ३४ हजार ९ सय ८० बिरुवा रोपेर अभियानको प्रथम दिन पर्यावरणका लागि पार्टीका तर्फबाट योगदान पुर्याइने उहाँको भनाइ थियो।

नागरिक पंक्तिमा सरकारप्रति आशा, विश्वास र भरोसा हट्दै गएर एक ढंगको वितृष्णा समाजमा बढ्दै गएको परिस्थितिमा जागरण अभियानको क्रममा नेपाली कांग्रेस देशव्यापी रूपमा समाजिक संवादमा गर्ने भन्दै प्रवक्ता शर्माले संवादका लागि केही प्रश्नसमेत तयार पारेको बताउनुभएको छ।

नेपाली समाजका विभिन्न समुदाय, वर्ग, पेसा र क्षेत्रका दिदीबहिनी दाजुभाइ आजको समयमा कस्तो धारणा व्यक्त गर्नुहुन्छ, के भावना राख्नुहुन्छ ?

आजको मितिमा उहाँहरूका ज्वलन्त प्रश्न, पीडा र अपेक्षा के छन् ? वर्तमान सरकारसँग उहाँहरूका अपेक्षा के थिए र आजको समयमा कस्तो परिणाम अनुभूति र समीक्षा गरिरहनुभएको छ ?

आजको अवस्थाका सम्बन्धमा नेपाली कांग्रेससँग उहाँहरूका प्रस्ट अपेक्षा के छन् ? जस्ता प्रश्नमा स्थानीय तहमा गाउँ–नगर वडा स्तरीय सामाजिक संवाद कार्यक्रम आयोजना हुने प्रवक्ता शर्मा बताउनुहुन्छ।

जागरण अभियानमा पार्टीको केन्द्रीय प्रतिनिधिहरूले सम्बन्धित प्रदेश सभा क्षेत्रभित्र कुनै पनि ढंगका सामाजिक विसंगतिका परम्परा, अन्धविश्वास र अप्रिय घटना भएका छन्, छैनन् त्यसबारे आवश्यक छलफल र अध्ययनसमेत गर्नेछन्।

अभियानका क्रममा बोक्सी प्रथा, दाइजोको निहुँमा भएका उत्पीडन, जातीय छुवाछुत र विभेद, बाल श्रम शोषण, घरेलु हिंसा, चेलिबेटी बेचबिखन, छाउपडीलगायत अन्य विसंगतिका विरुद्ध आवश्यक चेतना अभिवृद्धिमा पार्टीको सहभागिता रहने भन्दै कांग्रेसले युवा केन्द्रित विशेष संवाद पनि हुने जनाएको छ।

पहिलो चरणको जागरण अभियानमा ३१ हजार ६ सय ४२ जनालाई आफ्नो पार्टीमा प्रवेश गराएको कांग्रेसले दोस्रो चरणमा योभन्दा ठूलो संख्या विभिन्न राजनीतिक दल परित्याग गरेर नेपाली कांग्रेसमा समाहित हुने दाबी गरेको छ।

जागरण अभियानका क्रममा स्थानीय सरकारको दुईवर्षे समीक्षा पनि गरिने भन्दै यसक्रममा नेपाली कांग्रेस पार्टीका तर्फबाट उम्मेदवार भई विजयी भएका भएका जनप्रतिनिधि एवं उम्मेदवार तथा पार्टीको स्थानीय समितिका बीच विशेष आन्तरिक बैठक आयोजना गरिने पनि जनाएको छ।

जागरण अभियानको अन्तिम दिन असोज ७ गते सबै जिल्लामा बढ्दो महँगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार, हत्या, सरकारले ल्याएका अलोकतान्त्रिक र कम्युनिस्ट सरकारको सम्पूर्ण कुशासनका विरुद्ध विरोध प्रदर्शन र सभा गर्ने कांग्रेसले जनाएको छ।

पहिलो चरणको जागरण अभियानमा नेतृत्वप्रति चर्को आलोचना भएको सन्दर्भमा महामन्त्री पूर्णबहादुर खड्का पहिलो चरणको अभियानमा आएको अधिकांश गुनासो सम्बोधन भइसकेकाले दोस्रो चरणमा थप ऊर्जाका साथ आम कार्यकर्ता, मतदाता र जनतालाई समेत जागृत हुने बताउनुहुन्छ।

जागरण अभियानको १५ उद्देश्य
 राष्ट्रव्यापी रूपमा पार्टी पक्तिमा सांगठनिक गति, एकता, समन्वय र हार्दिकता अभिवृद्धि गर्र्दै पार्टी सुदृढीकरणका विविध गतिविधि अघि बढाउँदै पार्टी पंक्तिमा जागरण अभिवृद्धि गर्न।

यस क्रममा नेपाली कांग्रेससँग एकीकरण भएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका विभिन्न तहका साथीहरू एवं अन्य दलबाट प्रवेश गर्नुभएका साथीहरूसँग व्यवहारिक र भावनात्मक समन्वय अभिवृद्धि गर्दै पार्टीलाई सबल बनाउँदै अघि बढ्ने।

 कम्युनिस्ट सरकार बनेको दुई वर्षसमेत नपुग्दै नेपाली समाजमा जेजस्तो असन्तुष्टि, निराशा र वितृष्णाको संकेत देखिएको छ त्यसलाई गम्भीरतापूर्वक लिंदै सामाजिक संवादको माध्यमबाट समस्त जनताको विचार भावना साक्षात्कार गर्न।

 

  •  नेपाली कांग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको राजनीतिक उपलब्धी एवं समृद्धिको दिशामा गरिएका काम नागरिक पंक्तिमा व्यापक ढंगले सम्प्रेषण गर्न।

 

  •  वर्तमान सरकारका अनेक भ्रष्टाचारलगायत विसंगतिपूर्ण जनविरोधी कृयाकलाप बारे सविस्तार विवरण आमनागरिकमा व्यापक ढंगले प्रष्ट्याउन। (वाइड बडी, न्यारो बडीलगायत नेपाल वायुसेवा निगममा भएका भ्रष्टचार एवं भ्रष्टाचारका अन्य प्रकरणहरू)

 

  •  नेपाली समाजमा रहेका अनेक फरक मत, संविधान या राज्यप्रणाली बारेकै विमतिसमेतलाई राष्ट्रिय एकताको सूत्रमा गाँस्न आवश्यक छलफल र बहष विभिन्न स्तरमा अघि बढाउन।

 

  •  जनता, मतदाता र नेपाली कांग्रेस पार्टीको विभिन्न तहको नेतृत्व र सदस्यहरूबीचको सम्बन्धलाई जीवन्त र घनिष्ट बनाउन जनताका अनेक मुद्दामा अग्रसरता लिएर जनताको हितमा पार्टीलाई थप समर्पित गराउन।

 

  •  तराई–मधेशलगायत मुलुकको कतिपय भू–भागमा रहेका असन्तुष्टिहरूको समाधान सूत्र विगतमा नेपाली कांग्रेसको नेतृत्वको सरकारले अघि बढाएको संविधान संशोधनको प्रस्ताव नै हो, भन्ने तथ्यलाई आमनागरिकबीचमा प्रस्ट्याउँदै लोकतान्त्रिक संविधानप्रतिको जनविश्वासलाई दिगो बनाउँदै अघि बढ्ने।

 

  •  मुलुकको वर्तमान राजनैतिक, सामाजिक, प्रशासनिक एवं कुटनैतिक सम्बन्ध आदि बारे नेपाली बौद्धिक क्षेत्रसँग विशेष अन्तरक्रिया र सैद्धान्तिक सहकार्य अघि बढाउन।

 

  •  तिनै तहका सरकारलाई नागरिक हित र मुलुकको समृद्धि सम्बन्धमा निर्वाचनमा मतदातालाई दिलाएको विश्वासबमोजिम कार्य गर्न अपिल गर्दै आवश्यक दबाव बढाउन।

 

  •  नेपाली समाजमा केही समय यता भइरहेका ‘निर्मला पन्त’ प्रकरण झै महिला हिंसाका अनेक घटना र प्रवृतिका विरुद्ध जनचेतना अभिवृद्धि गरी महिला सम्मान र सुरक्षा अभिवृद्धि गर्न/गराउन।

 

  •  नेपाली समाजमा कतिपय ठाउँमा रहेका बोक्सी प्रथादेखि छाउपडीसम्मका अनेकौं सामाजिक विसंगतिको अन्त्यका लागि सार्थक छलफल र पहलकदमी अघि बढाउन।

 

  • भूकम्प, हावाहुरी, आगलागी, बाढी र अनेक विपद्मा भएको धनजनको क्षतिमा प्रभावकारी उद्धार र पुनस्र्थापना अभियानलाई सघाउन तथा यस्तो संभावित विपदमा सर्तकता साथ काम गर्ने ‘स्वयंसेवी समूह’ निर्माणको छलफल प्रारम्भ गर्ने।

 

  •  स्वदेशसँगै विदेशमा रहेका पचास लाखभन्दा बढी नेपालीसँग आफ्नो मातृभूमिमा लोकतन्त्रको रक्षा, संघीयताको सम्बद्र्धन र समृद्धिमा सहभागीताका लागि विशेष संवाद र जागरुकता अभिवृद्धि गर्न तथा तिनको मताधिकार प्रबन्ध गर्न सर्वोच्च अदालतले सरकारलाई गरेको आदेश कार्यान्वयनका लागि दबाब बढाउन तथा वैदेशिक रोजगारीका क्रममा पछिल्लो समय बढेका बेथितिहरू अन्त्यका लागि दबाब बढाउँदै र श्रमिक नेपाली युवाहरूको पीडामा मल्हम लगाउन।

 

  •  कम्युनिस्ट पार्टीको सरकार बनेयता प्रेस स्वतन्त्रतामाथि बढेको हस्तक्षेप, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने अनेक प्रयत्न आदिका विरुद्ध नेपाली प्रेस जगतसंग सहकार्य गर्दै प्रमुख प्रतिपक्षी दलका नाताले प्रेस स्वतन्त्रताको रक्षाका लागि खबरदारी गर्न।

 

  •  नेपाली कांग्रेसमा समाहित हुन चाहनेहरूलाई पार्टीमा स्वागत गर्दै नयाँ सदस्यताको व्यापक वितरण गर्दै पार्टीको विभिन्न तहका लागि आवश्यक प्रशिक्षणको पूर्व तयारी गर्ने।

प्रतिक्रिया दिनुहोस्