ठगी अभियोगमा पक्राउ परेका तीन जना सार्वजनिक



कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले हातहतियार कारोबार र ठगीको अभियोगमा धनगढीबाट पक्राउ परेका तीन जनालाई बिहिबार सार्वजनिक गरेको छ । सिआईबीले बुधबार साँझ पक्राउ परेका धनगढी–६ मटियारीका सञ्जय राणा र उनका सहयोगीहरु मटियारीकै कमल बिक र वडा नम्बर ३ का रुद्र प्रसाद अधिकारीलाई सार्वजनिक गरेको हो ।

प्रहरीले राणाको डेराबाट ठूलो परिमाणमा नक्कली काजगाज, चेक, हतियार र सुनका गहना लगायत फेला परेका सामानहरु समेत बरामद गरेको छ । धनगढी–४, चटकपुरबाट पक्राउ परेका राणाको डेराबाट प्रहरीले नेपाल राष्ट्र बैंकको नक्कली चेक, चार पेस्तोल, छाप, नक्कली पत्रको चाङ फेला पारेको हो । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप गिरीका अनुसार एक थान पेस्तोल, एक थान रिभोल्बर, दुई थान कटुवा पेस्तोल, सात राउण्ड गोली, एक थान चक्कु, ६७९।३६ ग्राम सुनका गहना बरामद गरिएको छ ।

मुख्य अभियुक्त सञ्जयको सञ्जय राणा र सञ्जय मशशेर जंगबहादुर राणाको नाममा भएको दुई थान नागरिकता समेत फेला परेको छ । विभिन्न व्यक्तिहरुको नाममा लिनेदिने गरी बनाएको १८ करोड तीन लाख ६४ हजारका २३ थान तमसुक समेत फेला परेको छ ।

एक अर्ब छ करोड ३७ लाख ७३ हजार एक सय ७५ रुपैयाँ, ४१ करोड ६५ लाख तीन हजार सात सय ८३ रुपैयाँ र ४२ करोड १७ लाख ५० हजार सात सय सात रुपैयाँका गरी तीन वटा नेपाल राष्ट्र बैंकले रिलिज गरेको भनिएको ३ थान नक्कली बैंक ड्राफ्ट र विभिन्न व्यक्तिको नाममा काटिएको दुई करोड ४५ लाख २० हजार रुपैयाँका १९ थान र विभिन्न बैंकका साइन गरिएका ३८ थान ब्ल्यांक चेक बरामद गरेको छ ।

विभिन्न सरकारी कार्यालयका ४१ थान नक्कली छाप, ३६ थान वित्तीय कारकोबार गर्ने संस्थाहरुले प्रयोग गर्ने ३६ थान नम्बरिङ मेसिन, जिल्ला अदालत कैलाली, मालपोत कार्यालय कैलाली र टीकापुर, नेपाल राष्ट्र बैंक, यातायात व्यवस्था कार्यालयका नगदी रसिदका ठेलीहरु, सीम कार्ड सहितका ६ थान मोबाइल, २ थान सिमकार्ड, नम्बरिङ स्ट्याम्प प्रहरीले प्रयोग गर्ने बेल्ट, चेष्ट नेम प्लेट, निलो चुस्ता लगायतका सामानहरु समेत प्रहरीले बरामद गरेको छ । ।

बा २० च ४२२० नम्बरको कार र से २ प ३१२४ नम्को मोटरसाइकल समेत बरामद गरेको छ । विभिन्न कार्यालयका लेटर प्याड, चेक बनाउन प्रयोग हुने कागज लगायातका सामग्री बरामद गरिएको छ । राणाले राष्ट्र बैंकका त्यही नक्कली चेक र कागजात देखाइ प्रलोभनमा पारी रकम असुलेर मिटर व्याजमा लगाउने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्