गाउँपालिकाले प्रहरीलाई मोटरसाईकल दियो



न्युज अफ नेपाल, काभ्रे । सरकार आफ्नै मातहत भएको महसुस गराउँदै गाउँपालिका भित्र रहेका प्रहरी चौकीलाई भुम्लु गाउँपालिकाले मोटरसाईकल उपलब्ध गराएको छ । आर्थिक वर्ष २०७५/२०७६ को बजेट मार्फत खरिद गरिएका चारवटा मोटरसाईकल गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटालाई हस्तान्तरण गर्नु भयो ।

एसपी जयराज सापकोटाले अध्यक्ष कुँवरबाट प्राप्त मोटरसाईकल प्रहरी चौकी दोलालघाट, फलाँटे, चौबास र सल्लेभुम्लुलाई हस्तान्तरण गर्नु भयो । १० वटा वडा रहेको भुम्लु गाउँपालिकामा विकट ठुलो भौगोलिक क्षेत्र छ । अरनिको राजमार्ग देखि मध्यपहाडी लोकमार्ग समेत भुम्लु गाउँपालिका हुँदै जान्छ । सुनकोशी र इन्द्रावती पनि भुम्लु गाउँपालिका हुँदै बग्छ । प्राकृतिक श्रोतको चोरी निकासी र दोहन नियन्त्रणमा गाउँपालिकाको कठिनाईलाई प्रहरीले सहयोग पु¥याउँदै आएको छ ।

‘जनताको दुखसुखको साथी प्रहरीलाई स्थानीय सरकारले भौतिक पूर्वाधारसँगै तत्काल दौडन सकिने सवारी साधन उपलब्ध गराएको हो’–अध्यक्ष गुमानध्वज कुँवरले भन्नुभयो–‘दुर्गम क्षेत्र धेरै भएकाले मोटरसाईकल उपयुक्त र प्रभावकारी साधन हुन सक्छ । आवश्यक पर्दा गाउँपालिकाका अन्य सवारी साधन पनि प्रहरीले प्रयोग गर्न सक्छ ।’ गाउँपालिकाले चारवटा प्रहरी चौकीलाई बार्षिक ५० हजार मसलन्द खर्च समेत उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष कुँवरले बताउनु भयो । सल्लेभुम्लु प्रहरी चौकीको घर भाडा समेत गाउँपालिकाले उपलब्ध गराउँदै आएको प्रमुख प्रशासकिय अधिकृत हरिबल्धव घिमिरेले बताउनु भयो ।

प्रहरीले समुदाय र जनप्रतिनिधिसँग समन्वय गरेर काम गर्दा स्थानीय क्षेत्रमा शान्ति सुरक्षा कायम हुने अध्यक्ष गुमानध्वज कुँवरले बताउनु भयो । ‘मादक पदार्थ उत्पादन र रोकथाममा विशेष ध्यान दिनु जरुरी छ’–अध्यक्ष कुँवरले भन्नुभयो –‘गाँजा फडानी र लागु औषध नियन्त्रणमा प्रहरी सक्रिय भएको छ । प्रहरी समुदाय कार्यक्रमले समाजमा भएका अपराध न्यूनिकरणमा सहयोग पु¥याएको छ ।’ गाउँपालिकाले टिभिएस मोटरसाईकल प्रहरी चौकीहरुलाई उपलब्ध गराएको हो । जगदम्बा मोटर्स प्राली मार्फत गाउँपालिकाले खरिद गरेका मोटरसाईकलको मुल्य १० लाख ३८ हजार रहेको छ । प्रति मोटरसाईकल विमा सहित २ लाख ५९ हजार ५ सय रुपैयामा खरिद गरेको प्रशासकिय अधिकृत हरिबल्धव घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रमा प्रहरी प्रमुख एसपी जयराज सापकोटाले समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएकाले प्रहरीले समुदायसँग मिलेर मात्रै कार्य गर्ने बताउनु भयो । स्थानीय सरकारसँगको समन्वयमा शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रतिवद्ध रहेको बताउँदै प्रहरी प्रमुख एसपी सापकोटाले विकास र समृद्धीमा प्रहरीले खेल्ने भूमिका स्थानीय सरकारको पक्षमा हुने बताउनु भयो ।

नागरिकको सुरक्षा प्रहरीको पहिलो उदेश्य भएकाले प्राप्त सवारी साधनको सदुपयोग हुने बताउँदै सापकोटाले भुम्लु गाउँपालिकामा ईलाका स्तरको प्रहरी कार्यालयका लागि स्विकृत हुने तयारी रहेको बताउनु भयो ।

गाउँपालिका उपाध्यक्ष कल्पना सापकोटा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, वडा अध्यक्ष रमेश शिवभक्ति लगायतले प्रहरी सक्रिय हुँदा विकास निर्माण र शान्ति सुरक्षामा सहज हुने बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्