मुख्यमन्त्री पौडेल र जर्मन राजदुतबीच भेटवार्ता



न्युज अफ नेपाल, हेटौंडा । प्रदेश–३ का मुख्यमन्त्री र संघीय गणतन्त्र जर्मनीका राजदुत रोलान्ड सेफरबीच बिहीबार हेटौंडामा भेटवार्ता भएको छ । भेटमा जर्मनी सरकार र प्रदेशबीच प्राविधिक शिक्षाका विषयमा विशेष छलफल भएको थियो ।

प्रदेशसँग मिलेर काम गर्न जर्मनी तयार रहेको राजदुत सेफरले मुख्यमन्त्री पौडेललाई जानकारी गराउनुभएको थियो । अहिलेको युग प्राविधिक शिक्षाको रहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो । प्रदेशमा प्राविधिक शिक्षाको धेरै सम्भावना रहेको भन्दै उहाँले प्रदेश सरकारले ‘एक स्थानीय तह–एक प्राविधिक शिक्षालय’ भन्ने अभियान लिएको जानकारी गराउनुभयो ।

यसका लागि जर्मनीसँग थप छलफल प्रक्रिया अगाडि बढाइने उहाँले बताउँदा राजदुत सेफरले जर्मनीले प्राविधिक शिक्षा बिस्तार गरिरहेको बताउनुभयो । प्रदेशसँग प्राथमिकताअनुसार सहकार्य गरिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रदेशले स्थानीय तहमा स्थापना गर्ने प्राविधिक शिक्षालयलाई सहयोग गर्न सकिने धारणा राजदुत सेफरले राख्नुभएको थियो । उहाँले नेपालको विकास लागि जर्मनी हातेमालो गरेर अगाडि बढ्ने विश्वास दिलाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्