पसलमा म्याद गुज्रेका सामाग्री खेलेआम विक्री हुँदै



रामचन्द्र वि.क.,

रामेछाप, जिल्लाको सदरमुकाम मन्थलीमा रहेका हार्डवेयर पसलहरुमा म्याद गुज्रेका सामाग्री बेच्नलाई तयारी अवस्थामा राखेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालयले नियमित बजार अनुगमनको क्रममा बुधबार ठूलो मात्रमा म्याद गुज्रेको इनामेल बरामत गरेको छ ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गएको बजार अनुगमन टोलीले मन्थलीको देवकोटा चोक नजिक रहेको लक्की हार्डवेयर सप्लार्यस र जिल्ला प्रशासन कार्यालय जाने बाटोमा रहेको वि. एस. हार्डवेयर सप्लार्यसबाट ६२ लिटर म्याद गुज्रेको इनामेल बरामत गरेको हो ।

लक्की हार्डवेयर सप्लार्यसबाट ३२ लिटर र वि. एस. हार्डवेयर सप्लार्यसबाट ३० लिटर गरी ६२ लिटर म्याद गुज्रेको इनामेल बरामत गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापका लक्ष्मण भुजेलले जानकारी दिनुभयो ।

त्यस्तै मन्थलीको बिचबजारमा रहेको रेजिना भाँडा पसलबाट परिमाण कम भएको एक थान पाथी पनि जफत गरिएको उहाँले जानकारी दिनुभयो ।

यस अघि पनि पटक–पटक बजार अनुगमनका क्रममा सचेत गराउँदा समेत आफूहरुको निर्देशनलाई बेवास्ता गर्दै म्याद गुज्रेका सामाग्री बेचेर व्यापरीहरुले उपभोक्ता माथि खेलबाड गरिरहेको भुजेलले बताउनुभयो ।

यस्ता म्याद गुज्रेका सामाग्री विक्री गर्ने हार्डवेयर पसललाई चाँडै कारबाही गरिने पनि उहाँले बताउनुभयो । केही हप्ता अघि मात्रै मन्थली बजारका फेन्सी तथा कस्मेटिक पसलहरुबाट ठूलो मात्रमा म्याद गुज्रेका सामाग्री वरामत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्