पशु–संवाद !



धरहरालाई बुधबार दिनभरका लागि भगवानले पशुभाषा बुझ्ने क्षमता प्रदान गरे। के भन्छन् त राजधानीवासी पशुहरू, सुनौं उनीहरूको बोली जस्ताको त्यस्तैः

स्थानः बागमतीको पुल, बल्खु, चक्रपथ।

फुर्केः यो अफिस समय आयो कि मलाई त दिक्क लाग्छ भन्या।

कालेः किन र, तँलाई त अफिस जानु छैन नि ?

तारेः लोकसेवा पास गर्नुपर्यो नि सरकारी अफिसतिर जागिर पाउनलाई !

कालेः साँच्चि हामी पनि लोकसेवाको आँगनमा गएर धर्ना दिऊँ न, समावेशीमा हामीलाई पनि राख भनेर।

तारेः इस् पाउलास् जागिर, मान्छेलाई त पुग्या छैन, पशु भएर जागिर खाने ? त्यही पनि हामी त बाच्छा, बाच्छी भए तै पालो आउँथ्यो कि ?

फुर्केः ठट्टा होइन क्या, जागिर खान जानुपर्छ भनेर मलाई दिक्क लागेको हो त ? अफिस समय सुरु भएपछि सबारी साधन बढ्छन्, ऊ त्यो रुखमुनि बसेको ट्राफिक पुलिस आउँछ, हामीलाई लात्ताले हानेर र पुच्छर बटारेर उठाउँछ, चिल्लो सडक छोड्नुपर्छ भनेर पो दिक्क मानेको त !

कालेः हो हो, यसले कुरा ठीक भन्यो है, ऊ हेर् त दुई ट्राफिक पुलिस एक–आपसमा कुरा गर्दैछन्, बाच्छा धपाउन तँ जा, तँ जा, भनिरहेका छन्।

‘राजधानीमा जागिर खान पाइएला भनेर कति कोसेली चढाएको, यहाँ आएर पनि बस्तु धपाउनुपर्ने, थुइक्क’ भन्दै होचो चाहिंले टाउको बटार्यो देखिस् नि !

फुर्केः मलाई गाउँतिरबाट आएका ट्राफिक पुलिस देखेर मायै लाग्छ भन्या, काठमाडौंका जस्ता हाम्रा आमाको दूध आफू खाएर हामीलाई चाहिं सडकमा मर्न छोड्ने काम यिनीहरूले गर्दैनन् क्या ! कस्ता सेक्सिस्ट काठमाडौंका मान्छे, बाच्छी भए पाल्छन्, हामी बाच्छालाई लखेट्छन्।

कालेः आ…, मलाई त यसरी छाडा छाडिदिएकोमा खासै चिन्ता छैन, काठमाडौंमा कम्तीमा नेपालगञ्ज र सुर्खेतको जस्तो त छैन !

फुर्केः हो त, त्यहाँ त दैलेख लाने भन्दै सुर्खेतको कटकुवाको भिरमा लगेर हामीलाई गुल्टाइदिन्छन् रे !

तारेः ए..त्यही भएर त रहेछ हिजो मलाई ट्राफिस पुलिसले ‘सुर्खेततिर पुर्याइदिऊ कि उठ्छस्’ भन्दै बुटले हानेको !

प्रतिक्रिया दिनुहोस्