महिला फुटबल टोली कीर्गिस्तानतिर



नेपाल समाचारपत्र, काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोली किर्गिस्तानमा हुने नाडेज्डा कपमा सहभागि जनाउन आज त्यतातिर प्रस्थान गर्दैछ। आगामी आईतबारदेखि शुरु हुने प्रतियोगितामा नेपालसहित आयोजक किर्गिस्तान, ताजिकिस्तान र उज्बेकिस्तानको सहभागिता हुनेछन्।

नेपाली टोलीको लक्ष्य पनि फाइनल पुग्ने रहेको प्रशिक्षक हरि खड्काले जनाए। खड्काले यो प्रतियोगिताले आगामी नेपालमै हुने १३औं सागको तयारीको लागि टोलीलाई सहयोग पुर्याउने आशा लिएका छन्।

१८ सदस्यीय नेपाली टोलीमा एन्जिला तुम्बापो सुब्बा र अन्जना रानामगर (गोलकिपर), पुनम झर्घामगर, हिराकुमारी भुजेल, अमृता जैसी, गिता रना र कविता धिमाल (डिफेन्डर), दिपा राई, रेणुका नगरकोटी, अनिता बस्नेत, मन्जली कुमारी योन्जन, सरु लिम्बु, बिमला चौधरी र इन्दिरा राई (मिडफिल्डर) तथा नीरु थापा, रेखा पौडेल, अनिता केसी र सावित्रा भण्डारी (फरवार्ड) रहेका छन्।

नीरु थापाको कप्तानीमा रहेको नेपाली टोलीले सेप्टेम्बर ८ मा किर्गिस्तानसँग खेल्नेछ। त्यस्तै सेप्टेम्बर ९ मा उज्बेकिस्तानसँग खेल्ने नेपालले तेस्रो खेल सेप्टेम्बर १० मा ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिता राउन्ड रोबिन लिग फरम्याटमा खेलाइनेछ। शीर्ष दुई टोली फाइनल पुग्नेछन्।

प्रतिक्रिया दिनुहोस्