पाँचथरमा उपनिर्वाचनको चहलपहल शुरू आफ्नै उम्मेदवारको जीत हुने सबै दलको दाबी



नेपाल समाचारपत्र, पाँचथर।पाँचथरमा आगामी उपनिर्वाचनको चहलपहल शुरू भएको छ। मंसिर १४ गते हुने उप–निर्वाचनका लागि पाँचथरमा क्रियाशील दलहरू चुनावी कसरतमा जुटेपछि चुनावी चहलपहल शुरु भएको हो। सबै दलहरू आफ्नै उम्मेदवारले विजय हासिल गर्ने कुरामा ढुक्क देखिएका छन्।

पाँचथरमा १ गाउँपालिका अध्यक्ष तथा २ वडा अध्यक्षहरूको उपनिर्वाचन हुने भएको छ। जिल्लाको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष अमरकुमार नेम्बाङ, हिलीहाङ गाउँपालिका वडा न ७ भारपाका वडा अध्यक्ष तीर्थराज तिम्सिना र फिदिम नगरपालिका–१ का वडा अध्यक्ष हर्कबहादुर तामाङको निधन भएपछि सो पदमा निर्वाचन हुन लागेको हो।

उप–निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा क्रियाशील दलहरू निर्वाचनका लागि जुटेका छन्। आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दलले ३ वटै स्थानमा विजयी हुने गरी गतिविधि अघि बढाएको नेकपा पाँचथरका अध्यक्ष राजकुमार भण्डारी बताउनुहुन्छ।

‘हामीले प्रचारप्रसार कमिटी टोल स्तरसम्म बनाएका छौं। अन्य गतिविधि क्रमशः बिस्तारै बढाउने छौं। तीनवटै स्थानमा हाम्रो जीत हुनेमा हामी ढुक्क छौं।’ दल एकीकरणको कारण मतदाताहरूले दलप्रति देखाएको सदाशयताका कारण नेकपाका उम्मेदवारले जित्ने अध्यक्ष भण्डारी दाबी गर्नुहुन्छ।

यता नेपाली कांग्रेस पाँचथरका सभापति नरेन्द्रकुमार केरुङले भने यो सरकारले उपनिर्वाचन गर्ने प्रपञ्च रचेर जनतालाई भ्रम बाँडेको आरोप लगाउनुभयो। ‘यो अलोकतान्त्रिक सरकारले चुनाव गराउँछ भन्ने विश्वास हाम्रो दललाई नरहेकाले चुनावको तयारीमा जुट्ने काम भइसकेको छैन’,केरुङले भन्नुभयो– ‘यदि चुनाव हुने वातावरण भएमा हाम्रो अवस्था मजबुद रहनेछ। फाल्गुनन्द गाउँपालिका र फिदिम नगरपालिका–१ मा नेपाली कांग्रेसको बहुमत रहेको हुनाले ती दुवै सिट र हिलीहाङ–७ मा समेत संगठन सुधार भएकाले तीनै स्थानमा कांग्रेसले जित्ने आधार बनेको छ’ –उहाँले बताउनुभयो।

यसैगरी समाजवादी दल पाँचथरका अध्यक्ष लक्ष्मण लावतीले उपनिर्वाचनका लागि दलको तयारी अघि बढेको बताउनुभयो। वहाँले निर्वाचन परिचालन कार्यक्रम र उम्मेदवार तय गर्नेलगायतका कामहरू केही दिनभित्रै सम्पन्न हुने बताउनुभयो। यस्तै राप्रपा र संघीय लिम्बुवान पार्टीले समेत उपनिर्वाचनको तयारीमा जुटेको ती दलहरूले जनाएका छन्। गएको चुनावको मत संख्यालाई आधार मान्ने हो भने कांग्रेस र नेकपाको मतअन्तर ५२ मतको रहेको छ।

तर अहिलेको अवस्था फरक रहेको हुनाले कांग्रेसले आप्mनो साख जोगाउन निकै गाह्रो हुने स्थानीय पर्यवेक्षकहरू बताउँछन्। गएको निर्वाचनमा फिदिम–१ मा नेपाली कांग्रेसका हर्कबहादुर मोक्तान तामाङले ७ सय ७४ मत प्राप्त गरी विजयी हुनुभएको थियो भने नेकपाका गजाधर भट्टराईले ७ सय ६९ मत, माओवादी केन्द्रका सागर नेम्बाङले १ सय ३५, राप्रपाका जगतप्रकाश थापाले मगरले २ सय ९ र समाजवादीका गौरव लामाले २३ मत प्राप्त गरेका थिए।

यसरी सो चुनावको मत परिणाम हेर्दा अहिले कांग्रेसभन्दा नेकपा १ सय २० मतले अगाडि रहेको देखिन्छ। यस्तै हिलीहाङ ७ (भारपा) को वडा अध्यक्षमा नेकपा एमालेका तीर्थराज तिम्सिनाले ७ सय १९ मतका साथ विजयी हुनुभएको थियो भने नेपाली कांग्रेसका डिल्लीप्रसाद सुबेदीले ४ सय ९९ मत, समाजवादी फोरमका धिरेन्द्र योक्पाङदेनले ४२ मत प्राप्त गर्नुभएको थियो। सो निर्वाचनको परिणाम हेर्ने हो भने कांग्रेस भन्दा नेकपा २ सय २० मतले अघि रहेको देखिन्छ।

गएको निर्वाचनको मत आधार एउटा भए पनि अहिलेको अवस्था अलिक फरक रहकोले चुनावमा कसको पल्ला भारी हुन्छ भन्ने कुरा उम्मेदवार को हो भन्नेले पनि अर्थ राख्ने कुरा स्थानीय पर्यवेक्षकहरू बताउँछन्। अहिले कुनै पनि दलले उम्मेदवारको आधिकारिक घोषणा नगरेको भए पनि सम्भावित उम्मेदवारहरूको नाम भने चर्चामा रहेको छ।

फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा कांग्रेसको तर्फबाट जिल्ला सचिव बृजाहाङ आङदेम्बे र महासमिती सदस्य रामराज आङदेम्बेको चर्चा रहेको छ भने नेकपाको तर्फबाट बिगतका निकटतम् प्रतिद्वन्द्वी बीरबहादुर कुरुम्बाङ, करुणा राई र ठाकुर सिं नेम्बाङको चर्चा चलेको छ।

यसैगरी फिदिम–१ को वडा अध्यक्षमा कांग्रेसको तर्फबाट सन्तोष श्रेष्ठ, शुभराज थापा र रमेश प्रधानाङ्गको नाम अग्रपंक्तिमा छ भने नेकपाको तर्फबाट गजाधर भट्टराई, दिपेन्द्र थापा मगर र मेदनी खत्रीको नाम चर्चामा छ। यसै गरी हिलीहाङ –७ मा नेपाली कांग्रेसबाट कसैको नाम चर्चामा छैन भने नेकपाबाट गेहनाथ रिजाल र सुनमान तामाङको नाम चर्चामा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्