प्रहरीको गोलीबाट एक घाइते



वीरगन्ज, (नेस)। पर्साको वीरगन्जमा प्रहरीले गोली हानेर एक जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१६ इनर्वा स्थायी ठेगाना बताउने २६ वर्षीय सन्तोष दास छन्।

उनको साथबाट एक थान पेस्तोल र १७ राउन्ड गोलीसमेत बरामद भएको डीएसपी गौतम थापाले जानकारी दिनुभयो।
मंगलबार राति वीरगन्ज महानगरपालिका–१३ राधेमाईमा नियमित चेकिङ गर्ने क्रममा प्रहरीलाई नै पेस्तोल देखाउँदै भागेपछि उनलाई गोली हानेर पक्राउ गरिएको डीएसपी थापाले बताउनुभयो ।

उनको दाहिने घुँडामा एक राउन्ड गोली लागेको छ। उनको नारायणी अस्पतालमा उपचार भएको र अवस्था सामान्य रहेको डीएसपी थापाले जानकारी दिनुभयो।

सन्तोष दास पहिले आपराधिक क्रियाकलापमा संलग्न रहेको पत्ता लागेको छ। प्रहरीका अनुसार यसअघि एक मुद्दामा उनले करिब १० वर्ष जेल सजायँ भोगेका थिए। उनको विषयमा थप अनुसन्धान जारी नै रहेको पर्सा प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्