गाउँमा सडक पुग्यो, मोटर पुगेन



वासुदेव शर्मा, जाजरकोट। जाजरकोटको सदरमुकामबाट सातवटै स्थानीय तहमा मोटर पुग्न सकेको छैन। यो जाजरकोटको दुःख हो। आफ्नो विकास आफैले गरी गाउँ गाउँलाई सिंहदरबार बनाउने चाहनासहित आएको विकास बालुवामा पानी हाले जस्तै भएको छ।

छिन्चु–जाजरकोट सडक संचालन भएको वर्षौं बितिसक्दा पनि राजमार्ग भित्रको बाटो पासागाड खोलामा पुल नबन्दा र जाजरकोट–पाँचकाटिया, जाजरकोट–रिम्ना सडकको स्तर उन्नति नहँुदा यात्रुले सहजरूपमा यात्रा गर्न सकेका छैनन्। राजमार्गभित्र पर्ने पासागाड खोलामा पुल नबन्दा वर्षाको समयमा खोला आएपछि यात्रु अलपत्र पर्ने गरेका छन्।

भेरी नगरपालिका–५ र ४ को बीचमा पर्ने पासागाड खोलामा पुल नबन्दा यात्रु मर्कामा परेका छन्। जाजरकोट हँुदै डोल्पा यहाँबाट सडक पुगेको छ भने जाजरकोट डोल्पा सडक भेरी करिडोरमा परेको छ। तर नाम मात्र ठूलो, काम भने राम्रो नभएकोले एक दशकभन्दा बढी समयमा निर्माण भएका योजनाको स्तर उन्नति नहुँदा नागरिक चिन्तित बनेका छन्।

जतिवटा व्यवस्था परिर्वतन भए पनि ठूलाबडाको हालिमुहाली चल्ने रहेछ। विकासमा भन्दा नातागोतालाई हेर्ने गरेकोले जनप्रतिनिधिप्रति जनतामा अविश्वास बढ्न थालेको जुनीचाँदे गाउँपालिका–५ का गोरखबहादुर शाहीले बताउनु भयो। जनताको इच्छा र चाहनाअनुसार योजनाहरू सञ्चालन नहुँदा विकासप्रति जनताको आशा सेलाउँदै गएको शाहीको भनाइ रहेको छ।

जनताको आवश्यकताअनुसार जनप्रतिनिधिले काम नगर्दा विकास निर्माणमा समस्या आएको हो। जनप्रतिनिधिले जनतालाई विश्वासमा लिनको लागि समयमै विकास निर्माणमा ध्यान दिन जरुरी रहेको शिवालय गाउँपालिका–४ का जितेन्द्र बुढाले बताउनुभयो। यसले विकासको हिसाबले जाजरकोट कता जाँदैछ भन्ने स्थानीय नागरिकमा प्रश्न उब्जिन थालेको बुढाले बताउनुभयो।

जाजरकोटका ७ वटै स्थानीय तहका केन्द्रमा वर्षायामको समयमा मोटर आवजजावत गर्न सकेका छैनन्। स्थानीय तहको केन्द्र रहेको स्थान शिवालय गाउँपालिका र नलगाड नगरपालिकामा पनि कच्ची बाटोमा मोटर जाने गरेका छन् भने वर्षाको समयमा डराएर हिँड्नुपर्ने वाध्यता छ भने अन्य स्थानीय तहमा मोटर अझै पुग्न सकेको छैन।

बाटोको गुणस्तर राम्रो नहुँदा सडक बने पनि मोटर नपुगेको स्थानीयहरू बताउँछन्। बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले समुदायले सडक निर्माण गर्नु पूर्व विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत नगराई आफ्नै मनोमानीबाट सडकको ट्ययाक खोलेकाले यस्तो समस्या आएको बताउनुभयो। स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले आफ्नो पहुँचभित्रका योजनामा ध्यान दिए विकासको संभावना धेरै रहेको शाहले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्