८ सय ६९ हावाहुरीपीडितलाई नवनिर्मित घर हस्तान्तरण



कृष्ण उदास खनाल, वीरगन्ज। गएको चैत १७ गते करिब ८ बजे एकाएक ठूलो हुन्डरी आयो, छिनैभरमा घर ध्वस्त भयो, आफ्नो प्राण प्याराको ज्यान लियो, त्यो रात संझदा पनि बारा र पर्साका हावाहुरीपीडितहरूको आँखा अझै रसाउँछ, शरीर जिरिङ हुन्छ, तैपनि बुधबारबाट भने उनीहरूको पीडामा थोरै नै भए पनि मल्हम लगाउने कार्य भएको छ।

नेपाली सेनाको सहयोगमा निर्माण भएको घर पाएपछि पीडितहरू त्यो कालो रातको घटना बिर्सिर्दै मुस्कुराएका छन्। सरकारले दिएको रकममध्ये ३६ करोड ४६ लाख ७५ हजार ९ सय ६९ रुपियाँ बचत गर्दै पर्सा बाराका टोर्नाडो (हावाहुरी) पीडितका लागि नेपाली सेनाले ८ सय ६९ वटा घर निर्माण गरिदिएको छ।

बुधबार वीरगन्जमा एक कार्यक्रमको आयोजना गरी नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई घर हस्तान्तरण गर्नुभएको हो।

नेपाली सेनाले जनता आवास कार्यक्रममार्फत निर्माण गर्दै आएको घर निर्माण सम्पन्न भएलगत्तै रक्षामन्त्री पोखरेललाई हस्तान्तरण गरिएको हो। रक्षामन्त्री पोखरेलले पनि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीमार्फत सम्बन्धित पालिकाका प्रमुखहरूलाई लगत्तै घर हस्तान्तरण गर्नुभएको छ।

प्रतिघरको लागत ५ लाख ४५ हजार ९ सय ८५ रुपियाँ लाग्ने नेपाल सरकारको लक्ष्यअनुसार ७९ करोड ३३ लाख १७ हजार ४ सय ८३ रुपियाँ बजेट विनियोजन भएकोमा नेपाली सेनाले प्राप्त मापदण्डअनुसार प्रतिघर ४ लाख ८४ हजा ८ सय ८८ रुपियाँ ६० पैसामा नै निर्माण सम्पन्न गरेको जनता आवास कार्यक्रमका कमान्डर सहायक रथी विनय बिक्रम राणाले बताउनुभयो।

सेनाले उत्पादनकर्ता कम्पनीसँग प्रत्यक्ष रुपमा निर्माण सामग्री खरिद गरी निर्माण गर्दा लागत कम पर्न गई विनियोजितभन्दा कम खर्चमा नै प्रकोप प्रतिरोधी सुविधायुक्त उच्चस्तरीय घर निर्माण गर्न सकेको राणाले बताउनुभयो।

नेपाली सेनाले न्यून पूँजी र छोटो समयका बाबजुद प्रतिकूल मौसममा पनि निर्माण सम्पन्न गर्न सक्नुमा राष्ट्रहित र जनअपेक्षाअनुसारको निष्ठाका कारण भएको जनता आवास कार्यक्रम कार्यदलका अध्यक्ष उपरथी प्रभुराम शर्माले बताउनुभयो।

सेनालाई बधाई दिँदै नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले नेपाली सेनाले पाएको जिम्मेवारी कुशलतापूर्वक पूरा गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट नेपाली सेनालाई धन्यवाद दिएको जानकारी गराउनुभयो। गएको वैशाख २१ गते शिलान्यास भएको यस कार्यमा तीनथरी सरकारले कसरी समन्वय गरी कार्य गर्नुपर्छ भन्ने एउटा दृष्टान्त प्रस्तुत गरेको पोखरेलले बताउनुभयो।

फरक अर्को प्रसंगमा रक्षामन्त्री पोखरेलले सरकारी तवरबाट हुने जनअपेक्षाका काम नीतिगत कारणले केही विलम्ब भएको स्वीकार्दै अब भने कामको परिणाम देखाउँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गत चैत १७ गते आएको बिनाशकारी हावाहुरीका कारण बारा र पर्सामा गरी २८ जनाको ज्यान गएको थियो।

 

प्रतिक्रिया दिनुहोस्