ब्यारेक नहुँदा प्रहरी पालमा रात काट्न बाध्य



नेपाल समाचारपत्र,डोटी। झट्ट सुन्दा विश्वास नलाग्न सक्छ। जनताको सुरक्षामा खटिने नेपाल प्रहरीका कर्मचारीहरूसँग बस्ने, सुत्ने भवन छैन। उनीहरू राति पाल टाँगेर सुत्न बाध्य छन् भन्ने कुरो तीतो यथार्थ हो। जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत प्रहरीहरू वर्षौंदेखि पालको साहरामा रात बिताउन बाध्य भएका छन्।

जिल्लामा वर्षौं पहिलो निर्माण भएको भान्साघरसँगै प्रहरी कर्मचारी पाल टाँगेर कोचाकोच गरेर रात बिताउन बाध्य भएका छन्। राती पानी पर्दा होस वा दिउँसोको चर्को घाममा प्रहरीहरू पालको साहारामा दिन रात बिताउन थालेका छन्।

जिल्ला प्रहरी कार्यालयमा डीएसपी तथा प्रहरी निरीक्षकसमेत सुत्ने कोठा नभएका कारण डीएसपीसहित अन्य केही प्रहरी अधिकृतसहित जिल्ला प्रशासन कार्यालयको चौकीदार बस्ने भवनमा गएर वर्षौंदेखि रात बिताउँदै आएका छन्। ब्यारेक नहुँदा प्रहरी कर्मचारीलाई राति सुत्न समस्या उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझीले बताउनुभयो।

‘प्रहरीको बस्ने, सुत्ने ब्यारेक भवन छैन, मसहित इन्सपेक्टर सावहरू जिल्ला प्रशासन गएर सुत्छांै’, माझीले दुखेसो गर्दै भन्नुभयो– ‘अन्य प्रहरी कर्मचारीले भान्साकोठामा सुत्नुपरेको छ।’ लामो समयदेखि भान्साकोठालाई ब्यारेक भवन बनाएर प्रहरीहरू रात बिताउन बाध्य भएका छन्।

राति ठूलो पानी पर्दा प्रहरीहरू पाल र प्लास्टिक ओढेर सुत्नुपर्ने अवस्था आउने गरेको प्रहरी कर्मचारीको गुनासो छ।
जिल्ला प्रहरी कार्यालय डोटीमा महिला प्रहरी सुत्ने ब्यारेक पनि छैन। महिला ब्यारेक नहुँदा महिला प्रहरी अर्काको घरमा डेरामा बस्दै आएका छन्।

आफ्नो सुत्ने ब्यारेक भवन नहुँदा कतिपय प्रहरीहरू दिनभरि काम गरेर राति साथीभाइ तथा आफन्तको घर तथा कोठामा गएर सुत्नुपर्ने अवस्था सृजना भएको बताइएको छ। दिनभरि काममा खटिएका प्रहरीहरू राति सुत्न नपाउँदा नारकीय जीवन भएको बताउँछन्।

जिल्ला प्रहरी कार्यालय डोटीमा प्रहरी सुत्ने ब्यारेक भवन नभएको जानकारी सबै तहमा भए पनि भवन बनाउन पहल कसैले पनि नगरेको प्रहरी कर्मचारीहरूको गुनासो छ। उनीहरू भन्छन्– ‘निरीक्षणमा आउँदा सबै हाकिमले हाम्रो अवस्था हेरेर जानुहुन्छ तर पहल कसैले गर्नुहुन्न, दिनभरि काम गर्दा राति सुखले आराम गर्न नि मिल्दैन।’

जिल्ला प्रहरी कार्यालयमा कुल ७० जना प्रहरी कर्मचारी भान्साकोठालाई सुत्ने ब्यारेक बनाएर कोचाकोच गरेर रात बिताउने गर्छन्। त्यस्तै बिसं २०५१ सालमा निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय डोटीको कार्यालय भवन पनि जीर्ण अवस्थामा रहेको छ।

उक्त भवनमा डीएसपी तथा इन्सपेक्टर बस्ने कार्यालय कक्षसमेत नहुँदा दिनमा कामकाज गर्न पनि समस्या हुने गरेको प्रहरी अधिकारी बताउँछन्। करिब ७ कोठाको उक्त भवनमा एक महिला, एक पुरुष हिरासत, एक एसपी अफिस तथा एक सञ्चार शाखाका लागि गरी ४ कोठा छुट्टयाइएको छ भने अन्य ३ कोठाहरूमा डीएसपीदेखि अन्य दर्जाका प्रहरीहरू मिलेर कामकाज चलाइरहेका छन्।

प्रहरी प्रधानकार्यालयबाट तीन वर्ष पहिले भवन निर्माणका लागि निर्देशन भई बजेट आए पनि उक्त भवन बझाङ जिल्लामा बनाउने भन्ने हेडक्वार्टरको अर्को आदेश भएपछि डोटी प्रहरीको समस्या जस्ताको तस्तै रहेको बताइएको छ। यो वर्ष प्रहरीको योजनाबाट भवन बनाउने बजेट आउन सक्नेमा डोटी प्रहरी निकै आशावादी भएका छन्।

जिल्लाका ग्रामीण क्षेत्रमा रहेका प्रहरीका भवनहरू सुधार भए पनि जिल्ला प्रहरी कार्यालयको भनव तथा ब्यारेकको अवस्था भने कहिल्यै सुधार हुन सकेन। प्रहरी प्रमुखले नगर विकास समिति डोटीको भवन लामो समयदेखि निवासका रूपमा प्रयोग गर्दै आउनुभएको छ।

जिल्ला प्रहरी कार्यालयसँग पर्याप्त मात्रामा जमिन पनि नभएकाले प्रहरीको आन्तरिक तालिमलगायतका अन्य सुरक्षाका तालिम गर्न पनि निकै समस्या भएको बताइएको छ। चौकीदार बस्न निर्माण गरिएको भवनमा जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकारी बस्न थालेपछि जिल्ला प्रशासन कार्यालयको सुरक्षार्थ खटिने चौकीदारलाई बास बस्न समस्या हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्