कृषि मन्त्री खनाललाई डेंगु,जताततै त्रास पैलियो



काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनाल बिरामी परेका छन् ।निरन्तर रुपमा ज्वरो आउने, टाउको दुख्ने लगायतका लक्षण देखा परेपछि मन्त्री खनाल ग्राण्डी अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन् ।

अस्पताल स्रोतका अनुसार, मन्त्री खनाललाई डेंगु ज्वरो देखिएको छ । बुधबार दिउँसो ३ बजेदेखि अस्पताल भर्ना भएका उनलाई शुक्रबारसम्म अस्पतालमा रहन चिकित्सकले सुझाएका छन् ।

मन्त्री खनाललाई डेंगु ज्वरो भएको मन्त्रीका निजी सचिवालय स्रोतले पनि पुष्टि गरेको छ । मन्त्री खनाललाई अत्याधिक मात्रामा ज्वरो आएपछि काठमाडौंको टेकुस्थित अस्पतालमा रगत परीक्षणबाट उनलाई डेंगु संक्रमण देखिएको थियो ।

मन्त्री खनालको स्वास्थ्य अहिले सामान्य रहेको र भोलिसम्ममा डिस्चार्ज हुने सचिवालयले जनाएको छ ।

सुनसरीको धरानमा भयावह रुपमा देखिएको डेंगु ज्वरोको प्रकोप नियन्त्रणमा आउन सकेको छैन । अहिले डेंगुको प्रकोप देशैका अधिकांश भूभागमा देखिएका छन् । यस्तै भक्तपुरमा पनि स्वास्थ्यकर्मीसहित १२ जनालाई डेंगुको संक्रमण देखिएकाके थियो ।

नेपालमा सन् २००४ देखि डेंगु रोगको संक्रमण बढ्दै गएको छ । डेंगु ज्वरो एडिस एजिप्टाइ जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रमक सरुवा रोग हो । यो रोग सार्ने लामखुट्टे शहर तथा शहरोन्मुख क्षेत्रमा बढी पाइने भएकाले शहरी रोग पनि भनिन्छ ।

यस जातको लामखुट्टेले स–साना सफा पानी जमेका स्थानमा फुल पार्दछ । खासगरी वर्षाको पानी जम्ने टिनका डब्बा, रंगका खाली डब्बा, थोत्रा टायर, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गमला, कूलर, पानीका ट्यांकी आदिमा यसले फुल पार्ने गर्दछ ।

यस लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्ने गर्दछ । झट्ट हेर्दा बाघजस्तो देखिने भएकाले यो लामखुट्टेलाई टाइगर मस्क्युटो’ पनि भन्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्