मानव बेचविखन विरुद्ध एक हप्ते अभियान शुरू



डोटी, (नेस)। डोटीमा मानव बेचविखन तथा ओसारपसार विरुद्धको एक हप्ते अभियान मंगलबारबाट शरू गरिएको छ।
जिल्लाका सरोकारवाला र स्थानीय नागरिकको उपस्थितिमा डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले उक्त अभियानको सुरुआत भएको बुधबार जानकारी गराउनुभएको हो।

विशेष गरी महिला र बालबालिका बेचविखनका विरुद्धमा उक्त अभियान केन्द्रित हुने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो। उहाँले भन्नुभयो, ‘हामीले सञ्चालन गर्न लागेको अभियान महिला बेचबिखनका विरुद्धमा केन्द्रित हुनेछ, जसले गर्दा महिला बेचबिखन तथा ओसारपसारको अन्त्य गर्न सहयोग हुनेछ।’

मानव बेचविखन र ओसारपसार गरी महिलालाई यौनजन्य क्रियाकलापमा लगाउने, बालबालिकालाई समेत यौनजन्य क्रियाकलाप र श्रममा लगाउने, मानव शरीरका अंगप्रत्यंग बेचविखन गरिने गरेकोमा यसबारे सचेतना फैलाउन साताव्यापी अभियान गर्न लागिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो।

अभियानका क्रममा स्थानीय जनतालाई मानव बेचविखन तथा ओसारपसार विरुद्धमा जानकारी दिइने र सन्देशमूलक पर्चा वितरण गरिने योजना रहेको प्रहरी उपरीक्षक माझीले जानकारी दिनुभयो।

यसपछि सन्देशमूलक माइकिङ, विद्यालयमा विद्यार्थीसँग छलफल, प्लेकार्डसहित बजार परिक्रमालगायतका कार्यक्रम गरिने प्रहरी उपरीक्षक माझीले बताउनुभयो।

जिल्लामा महिला तथा बालबालिका बेचबिखनका घटना सम्बन्धी २ जना विरुद्ध मुद्दा दर्ता भई प्रक्रिया चलिरहेको छ। त्यस्तै पछिल्लो समय बालश्रममा वृद्धि भएकोले त्यसको रोकथाम गर्न जरुरी भएको सरोकारबाला निकायले सुझाब दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्