डीभी परेका वडाध्यक्ष अमेरिकामा भीमफेदी–८ मा उपनिर्वाचन गराउन ध्यानाकर्षण



नेपाल समाचारपत्र, हेटौंडा।देशैभरि आगामी मंसिर १४ गते उपनिर्वाचन हुने चर्चाका बीच मकवानपुरको भीमफेदी गाउँपालिका–८ मा वडा अध्यक्ष पदमा उपनिर्वाचन गर्न आवश्यक पहलका लागि गाउँपालिकालाई स्थानीय तथा राजनीतिक दलहरूले ध्यानाकर्षण गराएका छन्।

गाउँपालिका उपाध्यक्ष पार्वती राना र प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवरलाई बुधबार भेटी राजनीतिक दलका प्रमुख तथा स्थानीयले वडा अध्यक्ष जगतमान घिसिङ पत्नीलाई परेको डीभीबाट परिवारसहित अमेरिका गएको ५ महिना नाघेको र उतैबाट राजीनामापत्रसमेत पठाइसकेको अवस्थामा मंसिर १४ मा हुने उपनिर्वाचनमा वडामा उपनिर्वाचन गर्ने आवश्यक पहल गरी मन्त्रालयमा जानकारी गराउन आग्रह गरेका हुन्।

गाउँपालिका उपाध्यक्ष रानाले वडाध्यक्ष घिसिङले कुरिएरबाट पठाएको राजीनामापत्र हालसम्म नआएकोले गाउँपालिकाले निर्णय नलिएको बताउँदै इमेलबाट चिठी आएको आफूले पनि सुनेको बताउनुभयो।

वडा अध्यक्ष घिसिङले आफूसँग फेसबुक म्यासेन्जरमा कुरा गर्दै आफू अब पारिवारिक कारणले आउन नसक्ने र राजीनामापत्र इमेल तथा कुरियर दुवैबाट पठाएको बताएको उपाध्यक्ष रानाले जानकारी दिनुभयो।

उपाध्यक्ष रानाले कुनै स्थानमा जनप्रतिनिधि रिक्त हुन नहुने बताउँदै गाउँपालिकाले जिम्मेवारी लिएर एक साताभित्र गाउँपालिकाको आधिकारिक धारणा सार्वजनिक गर्ने बताउनुभयो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुँवरले राजीनामापत्र गाउँपालिकाको इमेलमा आएको भए पनि कुरियरबाट राजीनामापत्रको सक्कल प्रति हालसम्म आइनपुगेको बताउनुभयो। अधिकृत कुँवरले यो राजनीतिक कुरा भएकोले आफूले केही गर्न नसक्ने बताउँदै घिसिङले राजीनामापत्र इमेल तथा कुरियरबाट पठाएको आफूलाई बताएको प्रस्ट पार्नुभयो।

प्रदेश–३ का प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवसँग अध्यक्ष पद रिक्त रहेकोले मंसिर १४ मा हुने उपनिर्वाचनमा उक्त वडामा पनि निर्वाचन गर्न आवश्यक कानुनी प्रक्रिया अघि बढाउन आग्रह गर्नुभएको छ।

नेता बानियाँले डीभी परेर अमेरिका गएका वडाअध्यक्ष घिसिङले अमेरिकाबाटै इमेलमार्फत् राजीनामा पठाइसकेकोले तत्काल मन्त्रालयले आवश्यक छानबिन गरी निर्वाचन गराउने पहल गर्न आग्रह गर्नुभएको छ।

वडाका स्थानीयले उपनिर्वाचन गराउन भन्दै करिब तीन साताअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन कार्यालय मकवानपुर, अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय तथा गाउँपालिकामा निवेदन दर्ता गराएका थिए।

वडा सदस्य नवराज अधिकारीलाई कार्यबाहक वडाध्यक्षको जिम्मेवारी दिएर २०७५ चैत २७ गते वडा अध्यक्ष घिसिङ परिवारसहित अमेरिका उडेपछि स्थानीय विकास निर्माणलगायत काम–कारबाहीमा प्रभाव परेको स्थानीयको आरोप छ।

 

प्रतिक्रिया दिनुहोस्