प्रधानमन्त्री रोजगार कार्यक्रम:१ सय ६७ आयोजना सम्पन्न हुँदा ५ हजार बढीलाई रोजगारी



नेपाल समाचारपत्र, बैतडी। धानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानीय तहमा १ सय ६७ आयोजना सम्पन्न भएका छन्। कार्यक्रमअन्तर्गत घोडेटो बाटो निर्माण, गोरेटो बाटो निर्माण, प्रसुती सेवा केन्द्र, सार्वजनिक शौचालय निर्माणका योजना सम्पन्न भएको स्थानीय तहले जनाएका छन्।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बैतडीमा ५ हजार १७ जनाले औसतमा १३ दिन रोजगारी पाएको जनाइएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दशरथचन्द नगरपालिकामा २५ आयोजना सम्पन्न भएको र त्यसबाट ३ सय ४८ व्यक्तिले औसतमा २१ दिन रोजगारी पाएको रोजगार सेवा केन्द्रले जनाएको छ।

कार्यक्रमअन्तर्गत घोडेटो बाटो निर्माण, गोरेटो बाटो निर्माण, प्रसुती सेवा केन्द्र, सार्वजनिक शौचालय निर्माणका योजना सम्पन्न भएको स्थानीय तहले जनाएका छन्।

यसै क्रममा डिलाशैनी गाउँपालिकामा २१ आयोजना सम्पन्न भएको र त्यसबाट ३ सय ५० व्यक्तिले औसतमा १५ दिन रोजगारी पाएको जनाइएको छ। दोगडाकेदार गाउँपालिकामा ९ आयोजना सम्पन्न हुँदा ३ सय ५४ व्यक्तिले औसतमा १७ दिन रोजगारी पाएको रोजगार सेवा केन्द्रले जानकारी दिएको छ।

यस्तै मेलौली नगरपालिकामा ९ आयोजना सम्पन्न भएको र त्यसबाट ३ सय ५८ जनाले औसतमा १७ दिन रोजगारी पाएका छन्। यस्तै पञ्चेश्वर गाउँपालिकामा सम्पन्न ८ आयोजनाबाट १ सय ९३ जनाले औसतमा ३० दिन रोजगारी पाएका छन्।

पाटन नगरपालिकामा ३९ आयोजनाबाट १ हजार ३ सय जनाले औसतमा ८ दिन रोजगारी पाएको बताइएको छ। यसैगरी पुर्चौंडी नगरपालिकामा १७ आयोजनामा २ सय ४८ जनाले औसतमा ३० दिन रोजगारी पाएको रोजगार संयोजक मीनबहादुर महराले जानकारी दिनुभयो।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पुर्चौंडी नगरपालिका पीसीसी बाटो, प्रसुती सेवा केन्द्र भवन, सार्वजनिक शौचालय निर्माणलगायतका काम सम्पन्न भएको महराले बताउनुभयो।

यस्तै शिवनाथ गाउँपालिकामा ११ आयोजनामा १ सय ४७ जनाले औसतमा २८ दिन रोजगारी पाएका छन्। यसैगरी सिगास गाउँपालिकामा १२ आयोजनामा ३ सय ३३ जनाले औसतमा १९ दिन रोजगारी पाएका छन्। जिल्लाको सुर्नया गाउँपालिकामा १ हजार ३ सय ८६ जनाले औसतमा ४ दिन रोजगारी पाएको रोजगार केन्द्र सुर्नयाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्