गौहत्याको विरोधमा गुल्मीमा प्रदर्शन



नेपाल समाचारपत्र, गुल्मी।हालै दैलेख जिल्लाको सुब्बाकुना र कट्कुवा जंगलको भीरबाट खसालेर गाई मारेको विरोधमा बुधवार विश्व हिन्दू महासंघ गुल्मीले जिल्ला सदरमुकाम तम्घासमा प्रर्दशन गरेको छ।

बाँके र नेपालगन्ज लगिएका गाई दैलेख जिल्लाको सुब्बाकुना र कट्कुवा जंगलको भीरबाट खसाल्दा दर्जनौं गाई मरेका थिए। विरोध कार्यक्रमका सहभागीले जिल्ला सदरमुकाम तम्घासमा निकालेको प्रर्दशनमा विभिन्न नारा लेखिएका प्लेकार्डसहित बजार परिक्रमा गरेका थिए।

गौहत्या गर्ने अपराधीलाई कठोर कारबाही गर्न माग गरेका छन्। सुनियोजितरूपमा गौहत्या भएको भन्दै जनताको आस्था र धर्ममाथि प्रहार भएकोले उक्त विरोध प्रर्दशन गरेको विश्व हिन्दू महासंघ गुल्मीका अध्यक्ष शुरेसचन्द्र भुसालले बताए।
प्रर्दशन पश्चात विरोध कार्यक्रमका सहभागीले गौहत्यारालाई काराबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारका प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ज्ञापनापत्रसमेत पठाएका छन्।

हिन्दू धर्ममा गाईलाई माताको रूपमा पुज्ने गरिन्छ। गाईको पिसाबलाई गौमुत्र अथवा गहुँत भनिन्छ। हिन्दू मान्यताअनुसार गौमुत्रले अपवित्रता नाश गर्छ भन्ने विश्वास रहेको छ। हिन्दू धर्मका देव तथा पितृ कार्यहरूमा गौमुत्रको ठूलो महत्व छ।

प्रतिक्रिया दिनुहोस्