नेपाली कम्युनिस्टका कारण संघीयता खतरामा



काठमाडौं, (नेस)।समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले नेपालका कम्युनिस्टले बहुजातीय देशमा संघीयता सम्बन्धी कार्ल माक्सको धारणालाई खतराको घण्टी ठानेर लुकाएको दाबी गर्नुभएको छ।

नेता श्रेष्ठले नेपालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र केही जातीय पार्टीले कार्ल माक्सले वर्गीय मुक्तिको कुरा मात्र उठाएको भ्रम छरेको बताउँदै भन्नुभयो ‘बेलायतमा अंग्रेजद्वारा आइरिसमाथि दमन हुँदा बेलायत जस्तो बहुजातीय देशमा संघीय शासनको आवश्यकताबारे सन् १८६७ मा त्यहाँका श्रमजीवीलाई लेखेको पत्र र लेखहरूमा उल्लेख गरेको छ।

उहाँले माक्सले जातीय हिंसा भइरहे आइरिसको आत्मनिर्णयको अधिकारको सम्मान गरी तिनीहरूलाई स्वतन्त्रता दिनुपर्ने र त्यसपछि संघीयतामा बाँडिनुपर्ने कुरा समेत उठाएको बताउनुभएको थियो।

नेकपाका नेताहरू साम्प्रदायिक र मनुवादी समेत रहेको बताउँदै मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रितलगायतका कतिपय नेताहरू कोटीहोम गरेर साम्यवाद खोज्न हिँडेको उहाँले दाबी गर्नुभयो।

उहाँले मनुवादी हिन्दू वर्ण व्यवस्थामा ब्रम्हाको मुख, पाखुरा, पेट र पैतालाबाटसमेत मानव जन्म हुने सिद्धान्त प्रतिपादन गरेको बताउँदै पूर्वीय दर्शनको नाममा यस्ता अवैज्ञानिक दर्शन मान्न नहुने दाबी गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्