पीडित ऋणीका आवाज र वास्तविकता



बालकृष्ण मैनाली

प्रायः मान्यता के राखिन्छ भने, जति बेला सत्ता सञ्चालकहरूले अन्जानमै गलत गरेको भए तापनि कानुनको कठघरामा उभिन किञ्चित पनि लज्जा र सरमको बोध गर्दैनन्। शिर ठाडो पारेर आफ्नो गल्तीलाई आत्मसात् गर्दै देशको कानुनले दिएको सजायलाई हाँसी–हाँसी स्वीकार गर्छन्।

त्यति बेला कुनै पनि देशका जनताले सुखको अनूभूति गर्छन् कि मेरो देश चलाउनेहरूले सकेसम्म गल्ती गर्र्दैनन्, अञ्जानमै गल्ती गरेछन् भने पनि त्यसको सजाय भोग्न तयार रहन्छन्। त्यस्तो देशको जनताले सदैव सुखको अनुभूति नै गरेका हुन्छन्। यस्ता देशहरूमा कानुनी शासनको दुरूपयोग यो वा त्यो नाउँमा नगण्य मात्रामा मात्रै हुन्छ।

प्रायः प्रचलित कानुनअनुसार सम्बोधन गर्ने सवालमा दलका कार्यकर्ता, आफन्त र नातागोता भनेर कानुनी प्रयोगमा हाम्रो देशमा जस्तो भेदभाव गरिँदैन। हाम्रो देशको शासन प्रणालीचाहिँ अन्य एसियाली देशहरूको तुलनामा धेरै फरक छ। हामीकहाँ कानुनी शासनको सवालमा मौखिक अवधारणाहरूको अभिलेखले चाहिँ सीमा पार नै गरिसकेको छ।

अर्थात् नेताहरूबाट भएका बाचारूपी मोखिक अभिलेख राख्ने स्थानको अभाव भैसकेको छ। देश कानुनी शासनको अवधारणाबाटै अग्रसर हुन्छ भनी जतिसुकै राजनीतिक व्यवसायीहरूले फलाको हाले तापनि अन्ततः गएर धेरै उच्च प्रतिशतमा ठगीको शासनले नै कब्जा जमाएको यथार्थताबाट कोही पनि अनभिज्ञ छैनन्।

साहुकारकहाँ ऋण लिन जाँदा घिउ खाने भनेर ऋण रकमको केही प्रतिशत रकम अग्रिम कट्टा गरी ऋण दिने प्रचलन काठमाडौंमै कतै–कतै अहिले पनि प्रचलनमा छ। बैंक र सहकारीहरूले पनि सीधै घिउ खाने नभनेर सेवा शुल्क भनी केही प्रतिशत अग्रिम लिन्छन्। यो सबै ऋणीहरूले भोगी आएको कुरा हो ।

देशको कुनै पनि क्षेत्र यस्तो छैन, जहाँ जनताले यो नाममा र त्यो नाममा ठगिन नपरेको होस्। शिक्षादेखि स्वास्थ्यसम्म, बजारदेखि विकाससम्म, रोजगारदेखि बेरोजगारसम्म र खन्नेदेखि पुर्नेसम्म सबैमा ठगिनुपरेको छ। ठगिनु नपरेको कुनै स्थान छैन। पाइला–पाइलामा, जान–अन्जानमा ठगी समावेश हुन पुगेको छ।

कानुनी शासनका नाउँमा कानुनी कुशासन अत्यधिकरूपमा मौलाएको हो भन्ने कुरालाई सरकार स्वयम् अनुभूति त गर्छ तर त्यस्ता विकृतिलाई तोड्ने हिम्मत गर्नै सकेको छैन। यस अर्थमा निर्वाचित जनप्रतिनिधिहरूले देशमा भैरहेको उच्च प्रतिशतको कुशासन रोक्न असफल हुन पुगेका छन् भनेर कसैले आरोप लगायो भने धेरै प्रतिशत निर्वाचित जनप्रतिनिधिहरूले चित्त नदुखाउँदा हुन्छ।

देशमा पुरातनकालीन ठगीको अवशेष अहिले पनि विद्यमान नै छ भन्दा आजका पुस्ताले जिब्रो टोक्नुबाहेक त्यसको विरुद्ध लागिपर्ने अठोट गर्न सकेका छैनन्। यसै सन्दर्भमा हालै एउटा पुरातनकालीन ठगीको समाचारले बजार राम्रोसँग ओगट्न पुगेको छ। सर्लाहीका स्यामकृष्ण शाह कलवार (श्याम परदेशी) जो त्यस क्षेत्रमा साहुकारका रूपमा परिचित छन्।

व्यक्तिगत कर्जा प्रदान गर्ने र असुल गर्ने सिलसिलामा यिनले ऋणीहरूलाई अत्यधिक मात्रामा शोषण गरेको समाचार सार्वजनिक भएको छ। शोषित ऋणीहरू न्याय नपाएसम्म आफ्नो गाउँ नफर्कने अठोटमा काठमाडौंमा डेरा जमाएर बसेका छन्।

लेनदेनको दस्ताबेजसहित सार्वजनिक भएको उक्त समाचारले चार वर्षअगाडि कुनै ऋणीले ४ लाख रुपियाँ ऋण लिएकोमा ऋणको सावाँ–ब्याजसहित पटक–पटक गरेर ६ लाख ६४ हजार भुक्तान गर्दा पनि ऋणी ऋण मुक्त हुनुको साटो उल्टो ९० लाख रुपियाँ तिर्नै बाँकी छ भनेर देखा पर्न आउछ भने ऋणीमाथिको यो भन्दा डर लाग्दो शोषण अरू के हुन सक्ला ? एकजना ऋणीको मात्र समस्या होइन यो।

थुप्रै ऋणीहरू यसबाट पीडित भएको समाचार सार्वजनिक भएका छन्। यस विषयमा पत्रकारहरू स्वयम् आरोपी साहुकारको घरदैलोमा पुगी यसबारे सोधखोज गर्दा ठाँटका साथ अदालतले लेनदेनसम्बन्धी मुद्दा जिताइदिएर कानुनबमोजिम काम गरेको भनी लालमोहर लगाइदिएकोले यसबारेमा अरूले कुरा उठाउने जमर्काे नगर्दा हुन्छ भन्नेसम्मको भनाइले राज्यका अंगहरू र स्वयम् अदालत पनि शोषण नियन्त्रणको सवालमा कति निरीह रहेको छ भन्ने कुराको थप पुष्ट्याइँ हुन पुगेको छ।

दुई वर्षअगाडिदेखि नै यो समस्या उठाइएको, यसबारेमा विभिन्न राजनीतिक व्यवसायीहरूकोमा पुगेर अनुनय विनय गरेको पीडित ऋणीहरूको भनाइ रहेको छ। आफ्ना गुनासाहरू सुनुवाइ हुन नसकेपछि न्याय प्राप्तिका लागि पुनः काठमाडौं आउनुपरेको कुरा पीडितहरूले व्यक्त गरेका छन्।

हुँदा–हुँदा आफ्नो क्षमताले भ्याएसम्मका व्यक्तिहरूकोमा हारगुहार गरेर थकित भएपछि आफूलाई परेको समस्या समाधानको निमित्त पशुपतिनाथलाई गुहार्न बाध्य भएका छन् ऋणी पीडितहरू। समस्या समाधान भएमा पशुपतिनाथलाई नरिवल चढाउन भाकल गर्न पुगेका छन् पीडितहरू।

गुण–अवगुण हरेक मानवमा मात्र होइन, हरेक चीजमा समावेश भएका हुन्छन्। परिस्थिति, परिवेशअनुसार गुनिलो मानवलगायत कुनै पनि चीज वा वस्तु अवगुणमा परिणत हुन कत्ति पनि बेर लाग्दैन। मान्छेको त कुरै छोडौं, पञ्चामृतमा प्रयोग हुने गुलियो वस्तु सुगरको रोगीलाई विष नै हुन्छ।

तागतको लागि प्रयोग हुने खानपानका वस्तुहरू युरिक एसिड भएका व्यक्तिहरूका लागि अभिशाप नै बन्छ। यस्तै मान्छे जतिसुकै शिक्षित भए तापनि प्राप्त शिक्षालाई सही उपयोग गर्नुभन्दा पनि दुरूपयोग गर्नतिर लाग्यो भने अन्त्यमा गएर त्यसले निम्त्याउने भनेको संकट र समस्या नै हो।

शिक्षित भैकन पनि साहुकार श्याम प्रदेशीले पुरातनवादीकै सोच र शैलीलाई पछ्याएर ऋणीहरूलाई शोषण गर्न पुगे। लेनदेनमा ऋण लिएर नियतवश नतिर्नेको लागि ऋण असुली गर्न बनाइएको कानुनलाई यिनले आफ्नो आर्थिक स्वार्थको लागि भरमग्दुर प्रयोग गरे। यिनले जतिसुकै आफ्नो सफाइको डंका पिटे पनि वास्तविकताले उनको डंकालाई सत्य स्थापित गर्दै गर्दैन।

साहुकारकहाँ ऋण लिन जाँदा घिउ खाने भनेर ऋण रकमको केही प्रतिशत रकम अग्रिम कट्टा गरी ऋण दिने प्रचलन काठमाडौंमै कतै–कतै अहिले पनि प्रचलनमा छ। बैंक र सहकारीहरूले पनि सीधै घिउ खाने नभनेर सेवा शुल्क भनी केही प्रतिशत अग्रिम लिन्छन्। यो सबै ऋणीहरूले भोगी आएको कुरा हो।

भलै त्यसलाई साहूले ऋण लगानी गरेको प्रतिफलको रूपमा लिन खोजिएको भए तापनि अहिले सार्वजनिक भएका ऋणीहरूको हकमा न्यायपूर्ण ऋणप्रवाह र इमानदारीपूर्वक सावाँ–ब्याज असुली गरेको भनेर मान्न सकिने अवस्था विद्यमान देखिँदैन।

एकातिर यी आरोपी साहुकारले एक लाख रुपियाँ ऋणप्रवाह गर्दा शुरूमै २३ हजार कट्टी गरेर ७७ हजार मात्र ऋणीलाई प्रदान गरेको र असुलीमा एक लाखको सावाँ कायम गरी ब्याजसहित असुलउपर गर्ने र अवस्थाअनुसार जति असुल गरेको भए तापनि ऋणमुक्त नहुने लेनदेनको लिखत तयार पार्दै सही गराउँदै राख्ने गरेको कुरा सार्वजनिक भएबाट उनी असल साहुकार हुन् भन्ने कुरालाई प्रमाणित गर्दैन।

तराई, पहाड, हिमाल जतासुकै होस् अशिक्षित तथा निम्नस्तरमा रहेका समुदायका सदस्यहरू आफूलाई आवश्यकता पर्नासाथ आर्थिक गुहार गर्न जाने भनेको स्थान स्थानीय साहुकारकै घर–आँगन हो। यस्ता समुदायका सदस्यहरूसम्म बैंकहरू वा सरल कर्जा प्रवाहकर्ताहरू अनि सरल असुलीमा नाम कमाएका अन्य संस्थाहरू पुग्दै पुग्दैनन्।

यदाकदा पुगी हाले पनि बिचौलियाहरूले ती निम्नस्तरमा रहेका समुदायका सदस्यहरूलाई सरल ऋणप्रवाहमा सदैव अवरोध नै खडा गरिदिएर स्थानीय साहुकारलाई नै शोषण गर्ने मार्ग प्रशस्त पारिदिन्छन्। यस्ता कार्यमा केही स्वघोषित सहकारी संस्था तथा लघुवित्तहरूले मलजल गरिदिएका छन्।

केही हप्तापहिले सार्वजनिक भएका यस्ता समाचारहरूले पनि यस कुरालाई पुष्टि गर्दछन्, अर्थात् केही लघुवित्त कम्पनीहरूले सोझासीधालाई ऋण लिन उत्साहित गरी ऋणप्रवाह गर्ने गर्छन्।

कहिलेकाहीँ ऋणीहरूमा विशेष परिस्थिति सृजना भएर ऋणको किस्ता चुक्ता गर्न केही ढिलो हुन गएको अवस्थामा किस्ता चुक्ता गर्न किन ढिलो भएको हो, त्यसको सकारात्मक पाटो अपनाउनुभन्दा कर्मचारीहरू ऋण असुलीको लागि भन्दै दिनदिनै घरमा धाउन जाने विसंगतिले प्रश्रय पायो, जसका कारण ऋणीहरू पक्राउ पर्ने डरले दिनभरि घरबार छोडी जंगल पस्ने र बेलुका आएर घरमा सुत्ने अवस्थासमेत सृजना हुन पुग्यो।

ऋणीहरू सबै चोखा र इमानदार हुन्छन् भन्ने यस आलेखको आशय पटक्कै होइन। नियतवश ऋण पचाउने उद्देश्य राखेर ऋण मात्रै होइन, बैंक, सहकारी र फाइनान्स कम्पनी नै डुबाएका थुप्रै घटना हामी सबैका सामु छर्लंग छ। तथापि हाल हारगुहार गरिरहेका ऋणीहरूको आवाजलाई हेर्दा ऋण पचाउनका लागि हतारिएका जस्ता देखिँदैनन्।

प्रायः सबै ऋणीहरूले आफ्नो ऋण चुक्ता गरेको, ऋण चुक्ता गर्दा पनि थप थुप्रै रकम तिर्नुपर्ने जालसाजी लिखतका कारण उनीहरू तिल्मिलाएको अनुभूति जो–कोहीले पनि मनन गर्न सक्छन्। अपवादको रूपमा आन्दोलनको नाउँमा एकाधजनाले लिएको ऋण पचाउन सकिन्छ कि भनेर लागिपरेका हुन सक्छन्।

यस विषयमा इमानदारी अनुसन्धानको खाँचो परेको स्पष्ट झल्किन्छ। सरकारले हात हालेको प्रायः हरेक क्षेत्रमा जशभन्दा अपजश मात्र हातलागी हुने गरेको छ। विभिन्न विषयमा उठ्ने गरेको जनआवाजले सरकार आफूले निश्चित र निक्र्यौल गरी गरेको काम–कारबाहीलाई गलत साबित गरिदिएको प्रमाणित भएको छ।

यसर्थ यस सवालमा पनि सरकार आलोचनाको पात्र नबनोस् भन्ने पीडित ऋणीहरूको मात्र चाहना होइन, जन–जनको चाहना पनि हो। जनदबाब र पत्रकारहरूको सूचना प्रवाहको कारण आरोपित साहुकार हाल प्रहरी हिरासतमा रहेका छन्। सरकारबाहिर रहेका तर सरकारी दलकै सदस्यहरूको पनि यसलाई प्रचलित कानुनबमोजिम कार्यवाहीको दायरामा ल्याइनुपर्ने आवाज नै मुखरित हुन पुगेको छ।

यसलाई स्वागतयोग्य कदम मानिनुपर्छ। यो मामिलालाई निष्पक्ष अर्थात् पीडितलाई न्यायको कसीमा राखेर छानबिन गरी वास्तविक सावाँ–ब्याजभन्दा वढी असुलउपर गरेको रहेछ भने बढी असुलउपर गरेको रकम पीडितलाई फिर्ता दिलाई आरोपीलाई प्रचलित कानुनबमोजिम सजाय हुन सक्यो भने पुरातनवादी शोषण अन्त्य गर्न सघाउ पुग्थ्यो कि ⁄ पीडित ऋणीहरूको साथसाथै अरू जन–जन पनि प्रतीक्षामा छन्।

(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ।)

 

 

प्रतिक्रिया दिनुहोस्