द्रुत मार्गका चुनौती



बहुचर्चित राष्ट्रिय गौरवको आयोजना काठमाडौं–निजगढ दु्रत मार्ग निर्माणाधीन अवस्थामा छ। सारा नेपालीले उत्साहका साथ हेरेको यस निर्माणका चुनौती पनि धेरै छन्।

मुलुकको सुरक्षामा गरिमा कमाएको भए पनि यस आयोजनाको सम्पूर्ण जिम्मेवारी पाएको नेपाली सेना पनि अनुभव हासिल गर्ने क्रममै छ।

सेनासँग अति विकट भूगोलमा जोखिम मोलेर नयाँ सडकका लागि ट्र्याक खोल्ने र सडक बनाउने अनुभव छ। यति भएर पनि उसका लागि पनि यो नयाँ चुनौती भने हो नै। किनभने बस्तीहरूका बीच सडक बनाउनु र निर्जन पाखा–पखेरा खन्नु भिन्न–भिन्न क्षमता र अनुभवका विषय हुन्।

चार वर्षका लागि जिम्मेवारी पाएको सेनाले बल्ल दुई वर्षपछि मात्रै विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)को स्वीकृति पाएको छ। डीपीआरअनुसार दु्रत मार्गको दूरी घटे पनि लागत भने बढेको छ। पहिले प्रस्तावित दूरी ७६ दशमलव दुई किलोमिटर थियो हाल आएर ७२ दशमलव पाँच किलोमिटर हुनआएको छ।

यसअघि एक खर्ब १८ अर्ब लागत अनुमान गरेकोमा डीपीआरपछि भने ५७ अर्ब बढेर एक खर्ब ७५ अर्ब लागत अनुमान गरिएको छ। अर्काे कुरा डीपीआर बनाउनुअघि नै सेनाले सडकको थुप्रै संरचना बनाइसकेको दाबी गरेको छ।

पछिल्लो अद्यावधिक तथ्यांकअनुसार सेनाले एक करोड ३४ लाख घनमिटर कटिङ र १५ लाख घनमिटर फिलिङको कार्य सम्पन्न गरिसकेको छ। डीपीआरपूर्व भएका निर्माण र प्रतिस्पर्धा नगरी नियुक्त गरेका व्यवसायीको काम प्रश्नको घेरामा पर्नसक्ने पक्षलाई पनि बिर्सनुहुन्न।

यस्तै, अन्य चुनौतीको कुरा गर्दा, दु्रत मार्गको प्रस्थान विन्दु खोकनाको समस्यालाई अग्रपंक्तिमै राख्नुपर्दछ। त्यहाँको धार्मिक र सांस्कृतिक सम्पदामा दु्रत मार्गमा परेको भन्दै आएका स्थानीय बासिन्दालाई चित्त बुझाउन अझै बाँकी छ।

स्थानीयको मागलाई सम्बोधन गर्न भन्दै दु्रत मार्गको रेखांकन परिवर्तन गरेर बागमती किनारमा पुर्याइएको छ। सिकाली मन्दिर, कुदेशलगायत थुप्रै ऐतिहासिक र पुरातात्विक महत्वको सम्पदालाई जोगाउनुपर्ने भन्दै स्थानीय आन्दोलित छन्।

नेपालमा नयाँ सडकको ट्र्याक खोल्नेदेखि सडक निर्माण र मर्मतको काम गर्ने प्रयोजनका लागि सडक विभागको व्यवस्थापन गरिएको छ, यसअन्तर्गतका डिभिजन सडक कार्यालयहरू प्रत्येक जिल्लामा छन्।

तर, मुलुककै गौरवका रूपमा रहेका अन्तर्राष्ट्रियस्तरको दु्रत मार्गजस्तो निर्माणका लागि नेपाली सेना खडा हुनुपरेको छ, सडक विभागले आफ्नो सामथ्र्य सावित गर्नसकेको छैन। विभाग दु्रत मार्ग निर्माणका सम्बन्धमा निरीह देखिएको छ, अनुगमन र निर्देशन समितिमा समेत यसको उपस्थिति देखिँदैन।

नक्साङ्कनअनुसार तयार हुने हो भने द्रुत मार्ग साँच्चिकै गौरव गर्नलायक हुनेछ। तीन सुरुङ, १६ विशेष प्रकृतिका र ७१ सामान्य गरी ८७ वटा पुलसहित ७२ दशमलव पाँच किलोमिटरको आधुनिक द्रुतमार्गको सम्पूर्ण काम आगामी चार वर्षभित्र सम्पन्न गरेर सञ्चालनमा ल्याउनु छ।

यी सबै चुनौतीमाथि विजय प्राप्त गर्न नेपाली सेनाले स्थानीय नागरिकको मन जितेर काम गर्नु छ भने आम नागरिकले सेनालाई सघाउनु छ।

प्रतिक्रिया दिनुहोस्