सार्वजनिक स्वास्थ्यमा नेपालको उपलब्धि



काठमाडौं, (नेस)।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई सार्वजनिक स्वास्थ्यमा उपलब्धि हासिल गरेबापत प्रशंसापत्रबाट सम्मान गरेको छ। हेपाटाइटिस बीको नियन्त्रणमा सफलता हासिल गरेबापत डब्लुएचओले नेपाललाई सधन्यवाद सम्मान गरेको हो।

डब्लुएचओको दक्षिणपूर्वी एसिया क्षेत्रीय कमिटीको ७२औँ सेसनमा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रशंसापत्र ग्रहण गर्नुभएको विश्व स्वास्थ्य संगठनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। विज्ञप्तीमा भनिएको छ– ‘नेपाल दक्षिणपूर्वी एसिया क्षेत्रमा हेपाटाइटिस बीमाथि नियन्त्रण प्राप्त गर्ने पहिलो मुलुक बनेको छ।’ नेपालसहित यस क्षेत्रका अन्य ३ मुलुक पनि हेपाटाइटिस बी नियन्त्रणमा पहिलो बनेका छन्।

नेपालसहित हेपाटाइटिस बीको नियन्त्रणमा सफलता हात पार्ने दक्षिणपूर्वी एसिया क्षेत्रका ४ देश मंगलबार भारतको नयाँदिल्लीमा डब्लुएचओबाट सम्मानित भएका हुन्। नयाँदिल्लीस्थित डब्लुएचओको दक्षिणपूर्वी एसिया हेर्ने एसइएआर कार्यालयमा बसेको क्षेत्रीय बैठकले नेपाल, भुटान, थाइल्यान्ड र बंगलादेशलाई हेपाटाइटिस बीको नियन्त्रणमा सफलता हासिल गरेबापत प्रशंसापत्र प्रदान गरेको हो। यी चारै देश दक्षिणपूर्वी एसियामा हेपाटाइटिस बी नियन्त्रण गर्ने पहिलो देश बन्न सफल भएको डब्लुएचओले जनाएको छ।

ती देशले ५ वर्षभित्रका बालबालिकामा हेपाटाइटिस बीको संक्रमण १ प्रतिशतभन्दा कममा झारेको र त्यसमार्फत क्रोनिक इन्फेक्सन र लिभर क्यान्सरका कारणहरूलाई न्यूनीकरण गरेको डब्लुएचओले जनाएको छ।

त्यसै गरी डब्लुएचओको क्षेत्रीय बैठकले आमाबाट बच्चामा सर्ने एचआइभी र सिफिलिस उन्मूलन गरेबापत माल्दिभ्सलाई प्रशंसापत्रद्वारा सम्मान गरेको छ भने दादुरा उन्मूलन गरेबापत श्रीलंकालाई सम्मान गरेको छ। डब्लुएचओले आफ्ना सदस्य राष्ट्रहरूलाई स्वास्थ्यका विभिन्न क्षेत्रमा गरेको प्रगतिबापत यसरी सम्मानित गर्न थालेको यो चौथो वर्ष हो।

 

प्रतिक्रिया दिनुहोस्