थापाले प्रमलाई विश्राम लिन आग्रह गरेपछि पाठकको आपत्ति



काठमाडौं, (नेस)।नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम दिन सत्तारुढ दल नेकपालाई आग्रह गर्नुभएको छ।बुधबार संसद्को विशेष समयमा बोल्ने क्रममा उहाँले सिंगापुरमा उपचाररत प्रधानमन्त्रीको स्वास्थ लाभको कामना गर्दै प्रधानमन्त्रीको उपचारबारे सरकारले संसदलाई यथार्थ जानकारी दिनुपर्ने माग राख्नुभयो।

प्रधानमन्त्री आलंकारिक पद नभएको र पछिल्लो समय कार्यबोझसमेत बढाइएको उल्लेख गर्दै सांसद् थापाले प्रधानमन्त्रीको इच्छाशक्ति मात्र सबै कुरा नभई शारीरिक स्वास्थ्यले पनि धेरै कुरा निर्धारण गर्ने बताउनुभयो।

नेकपाका सांसदले प्रधानमन्त्रीलाई ‘बा’ भनेर सम्बोधन गरेको सुनेको र प्रधानमन्त्री आफूहरूको पनि बा सरह रहेको बताउँदै सांसद थापाले भन्नुभयो– ‘हामी हाम्रो बा बिरामी हुनुभएको भए के भन्थ्यौं ? बा, धपेडी नगर्नुस्। आराम गर्नुस्। विश्राम लिनुस्। हामी उहाँलाई पनि त्यही भनौँ।’

तर सांसद थापाको आग्रहप्रति सत्तारुढ दलका सांसदहरूले आपत्ति जनाएका छन्। नेकपाका सांसद सूर्यप्रसाद पाठकले केही सांसदले प्रधानमन्त्रीको स्वास्थ्यभित्र आफ्नो दलको अस्तित्व खोजेको आरोपसमेत लगाउनुभयो।

थापाले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले प्रधानमन्त्रीको स्वास्थ्यभित्र आफ्नो दलको अस्तित्व नखोज्न पनि चेतावनी दिनुभयो। प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेजस्तै गरी प्रधानमन्त्रीले राजीनामा दिए हुन्थ्यो भन्ने आशय सांसद थापाले दिएकोप्रति असन्तुष्टि जनाउँदै सांसद पाठकले धेरै मानिसलाई यो सरकार ५ वर्ष चलेमा मुलुकले फड्को मार्ने र आफ्नो दलको अस्तित्व धरापमा पर्ने चिन्ता देखिएको टिप्पणी गर्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्