चिनियाँ विदेशमन्त्री  वाङ भोलि नेपाल आउँदै 



काठमाडौं, (नेस)। चिनियाँ विदेशमन्त्री वाङ यी भोलि शुक्रबार नेपाल भ्रमणमा आउनुहुने भएको छ। चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणको तयारीका लागि उहाँ काठमाडौं आउनुहुने भएको हो।
सीको काठमाडौं आगमनको औपचारिक मिति तय गर्न र भ्रमणको तयारीलाई तीव्रता दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा उहाँ दुईदिने भ्रमणका लागि नेपाल आउने हुनुभएको हो। वर्तमान सरकार गठन भएपछि चीनका तर्फबाट हुने यो पहिलो उच्चस्तरीय भ्रमण हुनेछ।

राष्ट्रपति सी आगामी असोज अन्तिम साता भारतको तमिलनाडुस्थित ममल्लापुर भ्रमणमा जाने र यही क्रममा काठमाडौंसमेत आउने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

पाकिस्तानको इस्लामावादमा आयोजना हुने चीन, पाकिस्तान, अफगानिस्तान आबद्ध त्रिपक्षीय बैठकमा सहभागी भएपश्चात् वाङ काठमाडौं आउने बताइएको छ।

भ्रमणका क्रममा वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गर्ने कार्यतालिका तय गरिएको छ। ज्ञवाली र उहाँका चिनियाँ समकक्षी वाङ द्विपक्षीय बैठकमा सहभागी हुने बताइएको छ।

चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ्स् (बीआरआई) परियोजना र चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन विभिन्न परियोजनाबारेमा बैठकमा छलफल हुने परराष्ट्रले जनाएको छ।

चीनले नेपाललाई लक्षित गर्दै विस्तार गरिरहेको रेल सेवा र द्विपक्षीय सहयोगका अन्य विषयमा समेत छलफल हुने बताइएको छ। सीको नेपाल भ्रमणका क्रममा सीमापार रेल सेवाको विषय महत्वपूर्ण एजेन्डाका रूपमा रहने परराष्ट्रका अधिकारीहरूको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्