प्रधानमन्त्री ‘बा’ लाई विश्राम गर्न दिनुहोसः गगन थापा



काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले अस्वस्थताका बाबजुद विदेशमै रहेर भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक सञ्चालन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आभार प्रकट गर्दै अब विश्राम लिन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले कार्यकारी प्रमुख लामो समयसम्म देश बाहिर बस्दा देशको राष्ट्रिय सुरक्षा तथा कुटनीतिक मर्यादा आदिमा जोखिम उत्पन्न हुने भन्दै प्रधानमन्त्रीलाई धेरै धपेडी नगर्न आग्रह गरे ।

पछिल्लो समय प्रधानमन्त्रीको कार्यबोझ बढाइएको तर शारीरिक स्वास्थ्य अवस्था भने कमजोर भएको थापाले बताए । इच्छाशक्ति भए पनि प्रधानमन्त्रीले आफूमाथिको दायित्व पूरा गर्न नसक्ने भन्दै उहाँले नयाँ प्रधानमन्त्री चयनको मार्गप्रशस्त गर्न पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराए ।

उनले भने, ‘मैले धेरै पटक नेपाल कम्युनिष्ट पार्टीका युवा सांसदहरुले प्रधानमन्त्रीलाई ‘बा’ भनेर सम्बोधन गर्ने गरेको सुनेको छु । प्रधानमन्त्री हाम्रो पनि ‘बा’ सरह हुनुहुन्छ । हामी हाम्रो ‘बा’ बिरामी हुनुभएको भए के भन्थ्यौँ ? ‘बा’ धपेडी नगर्नुहोस् । ‘बा’ आराम गर्नुहोस् । ‘बा’ विश्राम लिनुहोस् । हामी हाम्रो ‘बा’ लाई यसो भन्छौ । तर प्रधानमन्त्री बालाई त्यसो भन्न किन सक्दैनौँ ?’

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण लगातार काम गर्न नसक्ने भन्दै उहाँले विकल्प खोज्नुपर्ने आवश्यकता रहेको उनले बताएका छन् ।

नेकपाको बहुमत रहेको र प्रधानमन्त्री छान्न पनि सजिलो भएको भन्दै उनले अस्वस्थ भएका प्रधानमन्त्रीलाई विश्राम दिन आग्रह गरेका हुन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सरकारले संसदलाई जानकारी नगराएको प्रति पनि उनले गम्भीर ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्